भरतपुर आँखा अस्पताललाई ‘आइएसओ’ चिह्न

काठमाडौं । नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले आइएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गरेको छ । अस्पतालले गुणस्तरीय व्यवस्थापन गरेबापत यो अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त गरेको हो ।

आइतबार साँझ यहाँ आयोजित एक कार्यक्रममा युनाइटेड रजिष्ट्रार्ड (युआर) का देशीय निर्देशक प्रकाश पौडेलले नेपाल नेत्रज्योति संघ तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेललाई प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अस्पतालले अन्तर्राष्ट्रिय गुणस्तर पाउनु खुसीको कुरा भएको बताइन् । अस्पतालले लिएको दिगो विकासको लक्ष्य प्राप्तिको कामना गर्दै प्रमुख दाहालले यो चिह्न प्राप्तिसँग चुनौती थपिएको बताए । उनले भनिन्, ‘यो गुणस्तर चिह्नले भरतपुरलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाएको छ ।’

नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय महासचिव भरतबाबु चन्दले अस्पतालको सेवामा अझै गुणस्तरीयता विस्तार गर्नुपर्ने बताए । नेपालको आँखा उपचारको क्षेत्रमा सङ्घद्वारा सञ्चालित अस्पतालको सेवा ९० प्रतिशत रहेको जानकारी दिँदै चन्दले अस्पतालको स्तरोन्नतिका लागि केन्द्रबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष धरेलले लामो समयको अथक प्रयासपछि अन्तर्राष्ट्रियस्तरको गुणस्तर चिह्न आइएसओ ९००१ः२०१५ प्राप्त गर्न सफल भएको बताए । उनले अस्पताल स्थापनाकालदेखि हालसम्म अस्पतालको विकासमा क्रियाशील रहने नेपाल नेत्रज्योति सङ्घका पूर्व र वर्तमान अध्यक्ष, पदाधिकारी तथा सदस्यज्यूहरु, अस्पताल सञ्चालक समिति, चिकित्सक, कर्मचारी तथा दाताप्रति विशेष धन्यवाद ज्ञापन गरे ।

सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल विसं २०४४ चैत १८ गते स्थापना भएको हो । ३५ वर्षमा अस्पतालले २३ लाखभन्दा बढी बिरामीलाई सेवा दिएको छ । त्यसमध्ये २२ लाख २० हजार ८६३ लाई बहिरङ्ग सेवा (ओपिडी) सेवा दिएको छ भने एक लाख सात हजार ६३६ को शल्यक्रिया गरेको छ ।

यस्तै गत आर्थिक वर्ष २०७८÷७९ मा एक लाख ९६ हजार ४०० बिरामीलाई ओपिडि सेवा र नौ हजार ३२८ जनाको शल्यक्रिया गरिएको अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिए । भरतपुर आँखा अस्पतालअन्तर्गत भरतपुर उकालोमा बहिरङ्ग विभाग, तीनवटा सेकेण्डरी अस्पताल र १० आँखा उपचार केन्द्र हाल सञ्चालनमा रहेका छन् ।

चितवनसहित छ जिल्लामा अस्पताल र सेवा केन्द्र रहेका छन् । भारतीय नागरिकसहित १२ जिल्लाका बासिन्दाले अस्पताल र सेवा केन्द्रबाट प्रत्यक्षरुपमा सेवा पाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स