नेपाल चेम्बर अफ कमर्स नेपालको उद्यमी र व्यवसायीहरुलाई संगठित गर्ने पहिलो प्रतिनिधि संस्था हो । स्थापना भएदेखि आज सात दशकसम्म चेम्बरले व्यवसायीहरुलाई अभिभावकत्व दिने गौरवशाली संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ । चेम्बरले राज्यका व्यवसायीहरुलाई संगठित बनाएर मुलुकको आर्थिक विकासमा टेवा पु¥याउन अनवरत भूमिका खेलिरहेको छ ।
नेपाल चेम्बर अफ कमर्स आधिकारिक र विश्वासिलो मञ्चको रुपमा स्थापित भएपछि मात्र मुलुकका अन्य उद्यमीहरुले नेपालमा निःसन्देह लगानी गर्ने र सहकार्य गर्ने–गराउने वातावरण सिर्जना भएको पाइन्छ । विभिन्न मुलुकका व्यवसायीहरुले नेपाली व्यवसायीहरुसँग हातेमालो गर्दै नेपालको आन्तरिक तथा वैदेशिक व्यापार र अर्थतन्त्रलाई थप चलायमान बनाउन सक्रिय भूमिका निर्वाह गरेका छन् । यस्ता कार्यहरुले आजका दिनसम्म पनि निरन्तरता पाइरहेका छन् ।
डा. जयकुमार गुरुङ, महासचिव, नेपाल विकास अनुसन्धान प्रतिष्ठान
करको सन्दर्भमा व्यवसायीहरु वा उनीहरुका छाता संगठन र कर उठाउने राज्यका संयन्त्रहरुबीच विपरित धु्रवको जस्तो सम्बन्ध हुन्छ अथवा एक किसिमको वैरभाव हुन्छ भन्ने जस्ता सोचाइ आमरुपमा देखिन्छ । तर, सो भन्दा ठीक विपरित, नेपाल चेम्बर अफ कमर्सले, व्यवसायी र राज्यको बीचमा समन्वय र सहजता बनाउन उल्लेखनीय योगदान पु¥याएको छ ।
साथै, दुवै पक्ष बीचमा जित—जितको वातावरण सिर्जना गर्न समन्वयात्मक भूमिका समेत खेलेको छ । उदाहरणका लागि नेपालमा पहिलो पटक मूल्य अभिवृद्धि कर लागू गर्दा व्यवसायी र उपभोक्ताहरुमा ठूलो होहल्ला भई त्यति ठूलो मात्राको कर एकैपटक लगाउँदा जनमानस र व्यवसायीहरुबाट अवरोध आएको थियो । मूल्य अभिवृद्धि करबाट उपभोक्ताहरुमा प्रत्यक्ष असर पर्ने हुँदा उपभोक्ता मञ्चहरुबाट देशव्यापी विरोध आएको थियो ।
तर, त्यस्तो कठिन परिस्थितिमा सो करको औचित्य उपभोक्ता र व्यवसायीहरु माझ प्रष्ट पार्दै यसको कार्यान्वयनमा सहयोग पु¥याएर चेम्बरले आफू नेपाल सरकारको असल साझेदार हो भन्ने कुरा प्रमाणित गरेको थियोे ।
सूर्तीजन्य पदार्थको सवालमा चर्चा गर्नुपर्दा, सुर्तीजन्य पदार्थ उत्पादकहरु पनि चेम्बरअन्तर्गत पर्दछ । अतः यो विषयको महत्व, यसलाई सम्बोधन गर्न सकिने अवसरहरु र चेम्बरको भूमिकाको बारेमा यहाँ चर्चा गर्न खोजिएको छ ।
यस आलेखको शीर्षकमा उल्लेख भएको सूर्तीजन्य पदार्थको सवालमा चर्चा गर्नुपर्दा, सुर्तीजन्य पदार्थ उत्पादकहरु पनि चेम्बरअन्तर्गत पर्दछ । अतः यो विषयको महत्व, यसलाई सम्बोधन गर्न सकिने अवसरहरु र चेम्बरको भूमिकाको बारेमा यहाँ चर्चा गर्न खोजिएको छ । यसै सिलसिलामा नेपाल विकास अनुसन्धान प्रतिष्ठानको एक विज्ञ समूहले नेपाल चेम्बर अफ कमर्सका उच्च अधिकारीहरुसँग छलफल गरेको छ । चेम्बर र प्रतिष्ठानबीच सहकार्य गरी यस बारेमा आवश्यक अध्ययन–अनुसन्धान गर्ने, यस विषयलाई व्यवसायी र जनमानस समक्ष बहसमा ल्याउने र यसको वैज्ञानिक व्यवस्थापन गर्ने निष्कर्षमा सो छलफल पुगेको छ ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठान विशुद्ध गैर–नाफामूलक संस्था हो । विगत १८ वर्षदेखि यस संस्थाले विभिन्न समसामयिक विषयहरुमा अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा राज्यको समग्र विकासका नीति निर्माण कार्यमा सहयोग गर्दै आएको छ । साथै, यस प्रतिष्ठानले विगत ३ वर्ष देखि सूर्तीजन्य पदार्थको क्षेत्रमा अनुसन्धान गरी यस सवालको समग्रमा सम्बोधन गर्न राज्यका सरोकारवाला संस्थाहरुसँग सहकार्य गर्दै आएको छ ।
सुर्तीजन्य पदार्थको सवाल के हो ?
सुरुवाती रुपमा पश्चिमा मुलुकका सभ्रान्त वर्गका मानिसहरुले आप्mनो सम्पन्नता देखाउन यसको उपयोग गरेको पाइन्छ । तर, विस्तारै सूर्तीजन्य पदार्थको प्रयोगको व्यापकता संसारभर बढ्दै गयो र आज लाखौं मानिस यसको लतमा फसेका छन् । यसको प्रयोग स्वास्थ्यका लागि निकै घातक भएको प्रमाणित भएसँगै यो मानव विकासको लागि ठूलो चुनौतीको रुपमा झाँगिदै गएको छ ।
आर्थिकरुपमा सम्पन्न मुलुकहरु भन्दा न्यून र मध्यम आय भएका मुलुकहरुमा सूर्तीजन्य पदार्थ अम्मल वा लतको रुपमा फैलिएसँगै यसबाट जटिल समस्या उत्पन्न भएको छ । विकासोन्मुख मुलुकहरुको तुलनामा सक्षम र सम्पन्न मुलुकहरुमा शिक्षा–चेतना सँगसँगै समग्र विकास पनि अगाडि बढेको कारण यसका लाभ–हानीका बारेमा नागरिकहरुलाई सचेत गराउन र नियमन गर्न सहज हुन्छ ।
अझ, अल्पविकसित मुलुकका नागरिकहरु न्यूनतम आधारभूत आवश्यकता पूर्तिका लागि भागदौडको क्रममा आइपर्ने मानसिक तनाव कम गर्न सूर्तीजन्य पदार्थको सेवन गर्दछन्, जुन सरासर गलत हो । सूर्तीजन्य पदार्थले मानसिक तनाव कम गर्छ भन्ने कुरा केवल मिथ्या हो, बरु यस लतले दीर्घकालीन रुपमा मानसिक तनाव थप्दै जान्छ ।
सूर्तीजन्य पदार्थको सवालमा नेपालको स्थितिको कुरा गर्दा नेपाल विकास अनुसन्धान प्रतिष्ठानले २०२० मा देशव्यापीरुपमा गरेको अनुसन्धानअनुसार ३२ प्रतिशत नेपालीले सूर्तीजन्य पदार्थको सेवन गर्दछन्, जुन अत्याधिक हो । सोही अध्ययनले नेपालमा धुमपानबाट भएको असरका कारण स्वास्थ्य खर्च ४० अर्बभन्दा बढी भएको पुष्टी गरेको छ, जुन नेपालको कुल गार्हस्थ उत्पादनको १.०४ प्रतिशत हुन जान्छ ।
अर्को एक तथ्यांकअनुसार नेपालमा सूर्तीजन्य पदार्थको सेवनले प्रतिवर्ष ३७ हजार ५ सय २३ अर्थात प्रत्येक घण्टा ४ जना मानिसले मृत्युवरण गर्दछन् । यो संख्याले नेपालको कुल मृत्युको १९.४ प्रतिशत ओगट्छ । उक्त अध्ययनमा धुम्रपान गर्ने महिलाभन्दा पुरुषको संख्या अध्यधिक भएको पाइएको छ । पुरुषले गरेको प्रत्यक्ष धुम्रपानले गर्दा अप्रत्यक्ष (प्यासिभ स्मोकिङको) रुपमा महिला तथा बालबालिका अझ बढी प्रभावित भएको देखिन्छ ।
सूर्तीजन्य पदार्थको कुनै पनि फाइदा नभएको प्रमाणित भइसकेको छ । तर पनि यसका उत्पादक र व्यापारीहरु स्वास्थ्यमा हानी नगर्ने भन्दै यसका वैकल्पिक भेराइटीहरु बजारमा ल्याइरहेका छन्, जस्तै ई. लिक्यूड र भेपिङ । तर, यी सबले स्वास्थ्यमा प्रत्यक्ष रुपमा असर गर्ने अनुसन्धानले देखाएको छ । यस्ता आधुनिक किसिमका सूर्तीजन्य पदार्थबाट विभिन्न जटिल रोगहरु निम्तिने कुरा प्रमाणित भए तापनि उत्पादकहरु युवाहरुलाई यस्ता उत्पादनतर्फ आकर्षित गर्ने प्रयास गरिरहेका छन् । यसले हाम्रो समाजको भविष्यलाई झन् डरलाग्दो स्थिति तर्फ धकेलिरहेको छ ।
समाधान के ?
नेपालको संविधानले नेपाली जनताको स्वस्थ रहन पाउने मौलिक अधिकार सुनिश्चित गरेको छ । राज्यको तर्फबाट सबैभन्दा बढी जिम्मेवार निकाय भनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हो । यस मन्त्रालयले विभिन्न पहलहरु गरिरहेको भए तापनि ती प्रयासहरु पर्याप्त छैनन् । समग्र स्वास्थ्य समस्यामा नसर्ने रोग जस्तै क्यान्सर, मुटुरोग, श्वास–प्रश्वाससम्बन्धी रोग, मधुमेह आदिले ठूलो हिस्सा (अनुमानित ६० प्रतिशत) ओगटेको छ । यी रोगहरुलाई रोकथाम गर्न वा लाग्न नदिन सकिन्छ ।
नसर्ने रोगहरुमध्ये पनि क्यान्सर व्यापक भएको र दिनानुदिन बढ्दै गएको पाइन्छ । क्यान्सर रोगको प्रमुख कारण भनेको धुम्रपान हो । यसको नियन्त्रणका लागि राज्यले केही पहल त गरेको छ, तर ती ज्यादै अपर्याप्त छन् । त्यसैगरी, क्यान्सर रोग नियन्त्रणका लागि नेपालले विश्व स्वास्थ्य संगठनको सूर्तीजन्य पदार्थको नियन्त्रण विषयक महासन्धिमा हस्ताक्षर पनि गरिसकेको छ जुन सरकारको प्रशंसनीय कदम हो ।
यो सन्धी सूर्तीजन्य पदार्थको प्रयोगविरुद्ध लड्न जनस्वास्थ्यसम्बन्धी महासन्धी हो । यस महासन्धीको उद्देश्य वर्तमान र भावी पुस्तालाई सूर्तीजन्य पदार्थको कारणले स्वास्थ्यमा हुने विकराल असरका साथै सामाजिक, वातावरणीय र आर्थिक असरहरुबाट संरक्षण गर्ने हो ।
सूर्तीजन्य पदार्थको सेवन मानिसको आचरण(लत) सँग सम्बन्धित सवाल हो । खराब आचरण बसाउन मानिसलाई थोरै समय काफी हुन्छ तर यस्ता खराव आचरण(लत) लाई छुटाउन निकै समय लाग्छ । हानिकारक पदार्थको पूर्ण नियन्त्रण गर्नका लागि नेपाल सरकारले सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन निर्देशिका, २०६८ लागु गरेको छ, तर यसको कार्यान्वयन स्थिति भने धेरै नै फितलो छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमार्फत यस निर्देशिका (अद्यावधिक संस्करण २०७८) ले रणनीतिक नियन्त्रणका लागि अनुगमन र रोकथाम नीति अवलम्बन गरेको छ ।
यसमा जनमानसलाई सूर्तीजन्य पदार्थको उपयोग गर्नबाट रोक्ने, लतमा फसिसकेकाहरुलाई परित्याग गर्न मद्दत गर्ने, यसबाट हुने खतराहरुको बारेमा जनचेतना जगाउने, निषेधित गरेका नियमहरुलाई पालना गर्ने र गराउने र यसमा लाग्ने करको दायरा बढाएर नियन्त्रण गर्ने जस्ता उपायहरु पर्दछ ।
यसमध्ये कर प्रणालीद्वारा सूर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उपाय संसारभर नै प्रभावकारी रहेको पाइएको छ । तर, बिडम्बना, नेपालमा सूर्तीजन्य पदार्थलाई नियमन गर्न कर प्रणालीलाई खासै उपयोग गरिएको देखिंदैन । संसारका मुलुकहरुमा नेपाल सबैभन्दा कम कर लाग्ने मुलुकमा पर्दछ ।
सूर्तीजन्य पदार्थको सहज पहुँच, सस्तो मूल्य र फितलो अनुगमनका कारण नेपालमा यसका उपभोक्ताको संख्या दिनदिनै बढ्दो छ । त्यसैले नेपालमा जुनसुकै उमेरका मानिसहरु जताततै निसंकोच सूर्तीजन्य पदार्थ किनबेच तथा सेवन गरिरहेका देख्न सकिन्छ ।
(चेम्बर स्मारिकाबाट साभार)