पूर्व अमेरिकी सिनेटर ड्यान शेलीले कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएको नाइट्रिक अक्साइडको डाइटरी सप्लिमेन्ट नेपाललाई दिने

काठमाडौं । कोभिड-१९ भाइरसले विश्व अर्थतन्त्र र संसारको हेल्थकेयर सिस्टमको संरचना नै परिवर्तन गरिदिएको छ । नेपाल समेत विश्वका विभिन्न देशममध्ये कोभिडबाट प्रभावित देशमध्ये एक हो । अहिले पनि औसत ३ हजार हाराहारीमा दैनिक संक्रमितहरुको पहिचान भइरहेको छ भने ८ लाख १७ हजारभन्दा बढी पहिलो र दोश्रो लहरमा संक्रमित भइसकेका छन् । संक्रमितमध्ये १० हजार ३९६ बढीको ज्यान गइसकेको छ ।

सरोकारवालाहरु संभावित तेश्रो लहरको तयारीमा लागिरहँदा कोरोनाबाट हुनसक्ने स्वास्थ्य जोखिमलाई कम गर्ने अनेकन उपायहरुको विषयमा खोजअनुसन्धान समेत भइरहेका छन् । यो क्रममा वैज्ञानिकहरुले संक्रमण बढ्ने कारण, संक्रमित भएपछि अस्पताल नै भर्ना हुनुपर्ने जोखिमको कारण र ज्यान नै जानसक्ने जोखिमको कारण समेत पत्ता लगाइसकेका छन् ।

यो क्रममा कोभिड १९ का बिरामीहरुको शरीरभित्र नाइट्रिक अक्साइडको सामान्य अंश समेत उत्पादन नहुँदा समस्या देखिने गरेको पत्ता लागेको छ । नाइट्रिक अक्साइड भनेको प्राकृतिक रुपमा शरीरभित्र उत्पादन हुने र शरीरलाई चाहिने एक महत्वपूर्ण पदार्थ हो । यस पदार्थले रक्तचापको व्यवस्थापनका साथै शरीरको अक्सिजन स्याचुरेशन व्यवस्थापन गर्न समेत मद्दत गर्दछ । यसका साथै नाइट्रिक अक्साइडले इन्फ्लेमेसन घटाउने तथा कोरोना भाइरससहितका अन्य इन्फेक्सनविरुद्ध लड्ने प्रतिरोधात्मक भूमिकाको कार्य समेत गर्छ ।

हालसम्मको प्रयोग र प्रमाणहरुमा उच्च रक्तचाप, मधुमेह, मोटोपना, ध्रुमपान सेवनकर्ता, मृगौला सम्बन्धी रोगी, मुटुरोगबाट पीडितहरुको शरीरमा नाइट्रिक अक्साइड उत्पादन गर्नसक्ने क्षमताको कमी र त्यस्ता रोगीहरु कोभिड संक्रमणको उच्च जोखिममा रहेको पाइएको छ भने उनीहरुलाई लागेको रोग समेत तीव्र गतिमा जटिल बन्नसक्छ ।

अमेरिकामा १० वर्षदेखि बजारमा उपलब्ध नाइट्रिक अक्साइडको डाइटरी सप्लीमेन्टको प्रयोगले कोभिड १९ का बिरामीहरुमा सकारात्मक प्रभाव पारेको पाइएको छ । यो डाइटरी सप्लीमेन्ट संक्रमण भएको ७२ घण्टाभित्र चुसेर सेवन गर्नुपर्ने हुन्छ । दैनिक २ पटक दरले सेवन गर्न थालेपछि यसले शरीरमा घटेको अक्सिजनको मात्रा बढाउँछ र संक्रमित गम्भीर भई अस्पताल भर्ना हुनबाट जोगाउने काम गर्छ ।

यस्तो जीवनरक्षक डाइटरी सप्लीमेन्ट कोरोना भाइरसविरुद्धका भ्याक्सिनको कम उपलब्धता हुने नेपालजस्तो मुलुकका लागि वरदान सावित हुनसक्छ । किनभने नेपालमा ४७ लाख ८५ हजारभन्दा केही बढी जनसंख्याले खोपको पहिलो मात्रा र ३४ लाख ४९ हजार ७ सयभन्दा केही बढीले मात्र खोपको दुवै मात्रा लगाउन पाएका छन् ।

अमेरिकी टेक्सस राज्यका पूर्व सिनेटर सिनेटर ड्यान शेलीले बसन्त चौधरी फाउण्डेसन र नर्भिक इनिसिएटिभ्स फर न्यूट्रिसन एण्ड हेल्थको पहलमा कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएको नाइट्रिक अक्साइडको डाइटरी सप्लिमेन्ट करिब ७ लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको १० हजार बोटल नेपाललाई प्रदान गर्नेछिन् ।

यस डाइटरी सप्लीमेन्टको प्रयोगले उच्च जोखिममा रहेका वा पर्नसक्ने कोभिड संक्रमितको ज्यान बचाउन उपयोगी हुने विश्वास ड्यान शेलीले व्यक्त गरिन् ।

डाइटरी सप्लीमेन्टका अनुसन्धानकर्ता डा. न्याथन ब्रायनसँगै आएकी पूर्व सिनेटर ड्यान शेलीले भनिन्, ‘नेपालमा पनि कोभिड संक्रमित तीव्र गतिमा बढेका र मृत्यु हुने संख्या समेत बढिरहेको समाचारलाई मैले बेवास्ता गर्न सकिँन । कोभिडका कारण धेरै क्षति व्यहोरेको नेपालजस्तो मुलुकका लागि हामीमा चलिसकेको डाइटरी सप्लिमेन्ट काम लाग्नसक्छ भन्ने लाग्यो । त्यही भएर हाम्रो रोजाईमा नेपाल पनि परेको हो ।’

शेलीका निकै नजिकका साथी तथा आफन्त समेत नेपालमा रहेका छन् ।

नाइट्रिक अक्साइडसँग सम्बन्धित खोजमा २० वर्षदेखि संलग्न अमेरिकी खोजकर्ता तथा वैज्ञानिक डा. न्याथन एस. ब्रायनले हालसालै कोरोना भाइरसविरुद्ध निकै प्रभावकारी देखिएको नर्भिसिड नामको औषधि समेत बनाइसकेका छन् । हाल अमेरिकामा यो औषधिको तेश्रो फेजको क्लिनिकल ट्रायल चलिरहेको छ । डा. ब्रायन आणविक चिकित्साको अन्तर्राष्ट्रिय लिडर समेत हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स