काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने आकलन गरेको छ । तेस्रो लहर अहिलेको भन्दा पनि चुनौती पूर्ण हुने भन्दै कोरोनाको तेस्रो लहरसँग जुद्धसक्ने गरी तयारी अवस्थामा रहन सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।
मन्त्रालयले बिहीवार विज्ञप्ति निकालेर संक्रमणको चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने भएकाले अक्सिजन, शैय्या र जनशक्तिलाई चुस्त दुरुस्त अवस्थामा राख्न निर्देशन दिएको हो ।
सरकारी, गैरसरकारी संघ–संस्था, निजी क्षेत्र र नागरिकले संयुक्त पहल गरिरहँदा पनि संक्रमण दर जति घट्नुपर्ने हो त्यति नघटेको भन्दै मन्त्रालयले पछिल्लो हप्तादेखि संक्रमित थपिने क्रम बढिरहेकोले चिन्ता थपिएको जनाएको छ ।
मोरङ, सुनसरी, झापा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही र कैलाली गरी १० जिल्लामा पाँच सयभन्दा धेरैका दरले तथा २६ जिल्लामा दुई सयभन्दा धेरैका दरले सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।