अब टोखावासीलाई निःशुल्क रगत

काठमाडौं । टोखा नगरवासीले निःशुल्क रगत एवं रक्ततत्व पाउने भएका छन् । यसका लागि टोखा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाबीच आज द्विपक्षीय सम्झौता भएको छ । अब नगरवासीले रगत परीक्षण तथा रक्तथैलीका लागि पनि कुनै शुल्क तिर्नपर्ने छैन ।

नगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाणित सरकारी कागजात (नागरिकता, मतदाता परिचय–पत्र ई) को प्रतिलिपिका आधारमा निःशुल्क रगतको सेवा उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

काठमाडौं उपत्यकामा स्थानीयवासीलाई निःशुल्क रगत उपलब्ध गराउने सो नगरपालिका दोस्रो भएको छ । यस अगाडि कीर्तिपुर नगरपालिकाले गत मङ्सिर ७ गतेदेखि निःशुल्क रगत उपलब्ध गराउँदै आएको छ ।

टोखा नगरप्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डंगोल र नेरेसोका कार्यकारी निर्देशक उमेश ढकाल, केन्द्रीय रक्तसञ्चार सेवाका कार्यकारी निर्देशक दिव्यराज पौडेलका सेवा सञ्चालनसम्बन्धी सो द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सो अवसरमा नगरप्रमुख अधिकारीले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउन समझदारी भएको जानकारी दिए । नेरेसोका कार्यकारी निर्देशक ढकालले मानवीय सेवाका लागि नेरेसोले आफ्ना गतिविधि केन्द्रित गरेको जानकारी दिए ।

रगत परीक्षण र सेवाशुल्कका लागि नगरपालिकाले पहिलो चरणमा चालु आवको रकमबाट पाँच लाख विनियोजन गरेको छ । सम्झौतामा रगतको आपूर्तिबमोजिम केन्द्रीय रक्तसञ्चार सेवालाई सोधभर्ना दिइने उल्लेख छ ।

त्यस्तै नगरपालिकाका हरेक वडाले वर्षका कम्तीमा दुईपटक रक्तदान कार्यक्रम आयोजना गरी केन्द्रीय रक्तसञ्चार सेवामा रगत आपूर्ति बढाउन सहयोग गर्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स