नर्भिक अस्पतालले आफ्नो मुख्य भवनबाट कोरोना संक्रमितको उपचार नगर्ने

काठमाडौं । कोरोना संक्रमितको संख्या र दर घटेसँगै नर्भिक अस्पतालले आफ्नो मुख्य भवनबाट कोरोना संक्रमितको उपचार नगर्ने भएको छ । अस्पतालले आगामी फागुन १ गतेदेखि पुनः नन-कोभिड उपचार सेवा मात्र प्रवाह गर्ने भएको हो।

कोभिडको संक्रमण तीव्र भएको बेला नर्भिकले ‘कोभिड क्रिटिकल युनिट’बाहेक मुख्य भवनमा समेत कोरोना संक्रमितलाई राखेर प्रभावकारी उपचार सेवालाई निरन्तरता दिएको थियो ।

तर, संक्रमण घटेसँगै अस्पतालको मुख्य भवनबाट फागुन १ देखि पूर्ण रुपमा नन-कोभिड सेवा मात्र प्रवाह गर्न थालिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।

उनका अनुसार अब नर्भिकले कोभिड संक्रमितहरुको उपचार तथा कोभिड अघि वा पछिको परामर्श सेवा अस्पतालको पार्किङ नजिकै अलग्गै निर्माण गरिएको कोभिड क्रिटिकल युनिटबाट मात्रै प्रवाह गर्नेछ । कोभिड क्रिटिकल युनिट १५ शैयाको छ ।

नर्भिकले केही समयअघिदेखि नेपालका निजी अस्पतालमै पहिलोपटक ‘कोभिड ओपिडी सेवा’को समेत सुरुवात गरेको थियो । सो सेवा समेत कोभिड क्रिटिकल केयरबाटै प्रवाह हुँदै आएको छ । सो सेवालाई अझ प्रभावकारी बनाइएको र निरन्तर रहने समेत मिश्रले जानकारी दिए ।

उनका अनुसार नर्भिकको मुख्य भवनमा अब सामान्य अवस्थाको झै उपचार सेवा प्रवाह हुनेछ । सर्वसाधारणले ढुक्क भएर पहिलाको झै विश्वस्तरीय स्वास्थ्य सेवा लिनसक्ने उनको भनाई छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स