काठमाडौं । कोभिडको प्रकोप बढ्दै गएका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय मातहातमा रहेका उच्च कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको छ ।
मंगलबार स्वाथ्यमन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका उच्च कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेका हुन् । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीलाई कोभिड–१९ युनिफाइड (वीर अस्पताल) को जिम्मेवारी दिइएको छ । यसभन्दा अगाडि अस्पतालको निमित्त जिम्मेवारीको रुपमा डा. भुपेन्द्र बस्नेत रहेका थिए ।
नयाँ संगठन संरचनाअनुसार वीर अस्पतालको नेतृत्व १२ औं तहका प्रमुख विशेषज्ञले गर्ने व्यवस्था छ । कर्णालीमा स्वास्थ्य निर्देशक रहेका डा. रविन खड्कालाई पनि वीरमा सरुवा गरिएको छ ।
त्यसैगरी, औषधि व्यवस्था विभागमा महानिर्देशकको जिम्मेवारी भरत भट्टराईले पाएका छन् । नारायण ढकाललाई भने औषधि प्रयोगशालामा पठाइएको छ ।
राष्ट्रिय एचआईभी एड्स नियन्त्रण केन्द्रकी निर्देशक सुधा देवकोटालाई केन्द्रीय कारागार अस्पताल पठाइएको छ । एचआईभी एड्स नियन्त्रण केन्द्रमा डा. सन्जय ठाकुरलाई जिम्मेवारी दिइएको छ ।
राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकको जिम्मेवारी डा. श्रीराम तिवारीले पाएका छन् । हालका निर्देशक डा. प्रकाश शाहलाई कर्णाली प्रदेशमा सरुवा गरिएको छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटालाई मन्त्रालय तान्नका लागि सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको छ । उनको ठाउँमा डा. राजेन्द्र खनाललाई सिफारिस गरिएको छ ।