काठमाडौं । कोभिशिल्ड पहिलोमात्र लगाएकार दोस्रो खोपको पर्खाइमा रहेका आमनागरिकले भोलि सोमबारबाट खोप लगाउन पाउने भएका छन् । सरकारले कोभिशिल्ड खोप लगाएर दोस्रो खोपको मात्र कुरेर बसेका आम नागरिकलाई असट्राजेनिक खोप लगाउन लागेको हो ।
जापान र भुटान सरकारले कोभ्याक्स अन्तर्गत अनुदान सहयोगमा पठाएको कोरोना विरुद्धको अस्ट्राजेनिका खोप सोमबारबाट लगाउन शुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार पहिलो मात्रामा कोभिशिल्ड खोप लगाएर दोस्रो मात्राको खोपको पर्खाइमा रहेका १४ लाख जना नागरिकलाई यो खोप लगाइने छ ।
कोभिशिल्ड खोप पहिलो मात्रा लगाएर दोस्रो मात्राको प्रतिक्षामा रहेकालाई अस्ट्राजेनिका खोपको दोस्रो मात्रा दिने तयारी गरिएको मन्त्रालयका निर्देशक डा.तारानाथ पोखरेलले जानकारी दिए । ‘६५ वर्ष र सोभन्दा माथि उमेर समूहका नागरिकहरुलाई यो खोप लगाइने छ,’ उनले भने ‘ दोस्रो मात्रा दिई बाँकी रहेको खोप भने विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने छ ।’
भुटान र जापान सरकारबाट कोभ्याक्स सुविधामार्फत् प्राप्त गरेको अस्ट्राजेनिका खोप वैदेशिक रोजगारीका शिलशिलामा विभिन्न देशमा जानेहरूलाई पनि लगाइने भएको छ । नेपालमा कोरोना महामारी विरुद्ध लड्न भुटान सरकारले २ लखा ३० हजार र जापान सरकारले १६ लाख अस्ट्राजेनिका खोप सहयोग गरेका छन् ।