काठमाडौं । काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) मा आज एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्व. नेता गणेशमान सिंहकी धर्मपत्नी स्व. मंगलादेवी सिंहको जन्म शताब्दी दिवसमा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविर आज उत्साहपूर्वक सम्पन्न भएको हो ।
अस्पतालले आज आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३०६ जना सेवा लिएको अस्पतालले जनाएको छ । नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहको प्रमुख आतिथ्यमा एक समारोहका बीच मंगलबार विहान निःशुल्क स्वास्थ्य शिविरको शुभारम्भ गरिएको थियो ।
निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटनमा काठमाडौं महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष नविन मानन्धर लगायतको उपस्थिति रहेको थियो । क्षत्रपाटी निःशुल्क चिकित्सालयका अस्पताल डा.मनोजमान श्रेष्ठले अस्पतालले नयाँ बन्दै गरेको भवनबाट अत्याधुनिक स्वास्थ्य सेवा प्रवाह हुनै लागेको जानकारी दिए ।
साथै अध्यक्ष डा. श्रेष्ठले २०१३ सालमा अस्पताल स्थापना हुँदादेखि नै स्व. गणेशमान सिंहको विशेष सहयोग रहेकोले अहिलेको नयाँ पुस्ताबाट पनि सहयोगको अपेक्षा गरिएको बताए ।
आजको स्वास्थ्य शिविरमा शहरी क्षेत्रका स्थानीयबासी, अन्य बिरामीहरुले लाभ लिएको अस्पतालले जनाएका छन् । आजको स्वास्थ्य शिविरमा तीन सय छ जनाले ओपिडी टिकट, रगत जाँच लगायतका अत्याधुनिक स्वास्थ्य सुविधाहरु निःशुल्क रुपमा प्राप्त गरी लाभ लिएका छन् ।