पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेको छ । उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने भन्दै आज सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गरेको हो । उनले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो बताए। मैदानभित्र दुई दशक रहुन्जेल मीठो यादका रुपमा आफूसँग रहने उल्लेख गर्दै खड्काले नेपाली क्रिकेटलाई सबैले मिलेर नयाँ उचाइमा पु¥याउने विश्वाससमेत व्यक्त गरेको छ ।

लामो समय नेपाली राष्ट्रिय टोलीको कप्तानी गरेका खड्काले सम्पूर्ण नेपाली क्रिकेट समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने निर्णय लिएको बताए । सन् २००२ मा १५ वर्षको हुँदा आफूले क्रिकेट यात्रा शुरु गरेको उल्लेख गर्दै खड्काले आफ्नो जीवनमा देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नति हो भने ।

नेपालमा क्रिकेटको विकासका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता रहेको खड्काको भनाइ छ । यसका लागि सबैमा इमानदारीको खाँचो भएको उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेको छ । तेत्तिस वर्षीय खड्का सन् २००९ मा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए। उनले सन् २०१९ सम्म कप्तानीको भूमिका निर्वाह गरेका थिए ।

खड्काले नेपालका लागि १० एकदिवसीय तथा ३३ टी–२० अन्तर्राष्ट्रिय खेल खेले । दायाँहाते ब्याटस्म्यान उनले यस क्रममा एकदिवसीयमा ३१५ रन बनाए भने टी–२० मा ७९९ रन बनाएका थिए । दुवै किसिमका प्रतियोगितामा उनले शतक प्रहार गर्न सफल भएका थिए । खड्काले बलिङसमेत गरेका थिए। उनले १० एकदिवसीय खेलमा नौ विकेट लिएको थिए भने ३३ टी–२० खेलमा आठ विकेट लिएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स