ढकमक्क घोडेपानी

काठमाडौं । समुन्द्री सतहदेखि २ हजार ८०० मिटर उचाईमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी क्षेत्रको जंगल ढकमक्क लालीगुराँस फुलेर मनमोहक र आकर्षक बनेको छ ।

वरपरको पाखामा लालीगुराँसले रंगिएको घोडेपानीको जङ्गल घुम्न, पुनहिलबाट सुर्योदय, पहाडी भूगोल र हिमशृङखलाको अवलोकन गर्न पाउनु यहाँको विशेषता हो । यहाँको स्वच्छ हावापानी र शान्त वातावरणले तन/मन चङ्गा बनाउँछ ।

चैत–बैशाख गुराँस फुल्ने याम हो । घोडेपानीको जंगलमा रातो, सेतो, चिमाली, सिमाली लगायतका धेरै जातका गुराँस पाइन्छ । पाखामा फुलेका गुराँसको जंगलको पृष्ठभूमिमा धौलागिरी, गुर्जा, अन्नपूर्ण, माछापुच्छर्े लगायत १६ भन्दा बढी हिमाल र सुर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ । विश्वमा ४२ प्रजातिको गुराँस पाईन्छ । तीमध्ये नेपालमा ३२ प्रताजीका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययन अनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातीका लालीगुराँस पाइन्छ ।

लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो । एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जंगल गण्डकी प्रदेशकै ठूलो भएको दावी गरिएको छ । घोडेपानीबाट ४५ मिनेट उकालो हिडेपछि समुन्द्री सतहदेखि ३ हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा पुगिन्छ ।

दैनिक १ हजार जना भन्दा बढी सबै किसिमको क्षमता भएका पाहुना बास बस्न सक्ने सुविधा सम्पन्न होटलहरु भएको घोडेपानी आसपासमा सहायक गन्तब्य पनि छन् । गुराँस पार्क, चरा अवलोकन केन्द्र, फूलबारी, पेरिभारानी ताल, भलखरा, पोन्नी र साइकल टे«ल घोडेपानी आसपासका सहायक गन्तब्य हुन् ।

सडक सञ्जालमा जोडिएको घोडेपानीमा यातायात र पैदल हिडेर पुग्न सकिन्छ । पोखराबाट हरेक बिहान साढे ९ बजे म्याग्दीको बेनी हँुदै घोडेपानीका लागि बस छुट्ने गर्छ । पोखरादेखि कास्कीको उल्लेरीसम्म सवारी साधन र त्यहाँ देखि ३ घण्टा पैदलयात्रा गरेर घोडेपानी पुग्न सकिन्छ । घोडेपानी र पुनहिलबाट मोहरेडाडा, खोपारालेक, तातोपानी कुण्ड, घान्द्रुक लगायतका पर्यटकीय स्थलहरुको भ्रमणमा जान सकिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स