काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई पराजित गर्दे विश्वकपमा छनोट भएको छ । बिहीबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
योसँगै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै छनोट भएको हो ।
युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहदा खराब प्रकाशको कारण खेल रोकिदा डीएलको आधारमा नतिजा तय गरिएको हो ।
खेल रोकिनु अघि नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन जोडेको थियो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो ।
युएईका लागि आसिफ खानले शतकीय इनिङ खेले । विस्फोटक ब्याटिङ गरेका उनले ४२ बलमा ११ छक्का र ४ चौकासहित अविजित १ सय १ रन बनाए ।
यस्तै भ्रित्य अरबिन्दले ९४ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान मुहमद वासिमले ६३ रनको अर्धशतकीय इनिङ खेले ।
रोहन मुस्तफा २० रनमा आउट भए । सिपि रिजवान ७, आर्यन लाक्रा ६ र आयन अफजल खान ३ रनमा आउट भए ।
नेपालका दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले १/१ लिए ।