काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिग-२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाखका दरले पुरस्कार दिने घोषणा गरेका छन् ।
विजेता खेलाडीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाई दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेको हो । खेलाडीलाई बधाई दिँदै प्रधानमन्त्रीले भने, ‘सर्वप्रथम इतिहास रचेकामा तपाईंहरूलाई बधाई छ । तपाईंहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ । चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ, यो देशकै गौरव हो ।’
प्रधानमन्त्रीले भने, ‘तपाईंको कारण देशकै गौरव र प्रतिष्ठा बढेको छ । म सबै नेपालीहरूको तर्फबाट तपाईंहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछु । तपाईंहरूलाई फेरि पनि सफलता मिलोस् । आउने प्रतिस्पर्धाका लागि शुभकामना छ । तपाईंहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी दुई लाख पुरस्कार दिने घोषणा गर्दछु ।’
सो अवसरमा खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकामा धन्यवाद दिँदै नेपाली खेलाडीहरूले वास्तविक अभिभावक पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।