काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा अर्जेन्टिना साउदी अरेबियासँग पराजित भएको छ । आज भएको अर्जेन्टिना र साउदी अरेबियाबीचको खेलमा अर्जेन्टिना २-१ गोलले पराजित भएको हो ।
अर्जेन्टिनाले पहिलो हाफमा १ गोलको अग्रता लिएको थियो ।
साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।
कप्तान लियोनल मेस्सीले १० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् । खेलको ४९ औं मिनेटमा सलेह अल शेहरीले गोल गर्दै साउदीलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
त्यसपछि खेलको ५३ औं मिनेटमा सलिम अल्दावसरीले दोस्रो गोल गर्दै साउदीलाई २-१ को अग्रता दिलाएका हुन् ।
योसँगै अर्जेन्टिना र साउदी अरेबियाबीचको पहिलो खेलमा साउदी अरेबिया विजयी भएको छ ।