काठमाडौं । फिफा विश्वकप फुटबलको तेस्रो दिन आज चार खेल हुने भएका छन् । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज समूह ‘सी’ र समूह ‘डी’ का दुई/दुई खेल हुन लागेको हो । आजदेखि हरेक दिन समूह चरणका चार खेल हुनेछन् ।
पहिलो खेल समूह ‘सी’ मा रहेका अर्जेन्टिना र साउदी अरेबियाबीच हुनेछ । खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे लुसेल रंगशालामा खेलिने छ ।
त्यस्तै, दोस्रो खेल समूह ‘डी’ मा रहेका डेनमार्क र ट्युनिसियाबीच हुनेछ । खेल नेपालीसमयअनुसार ६ः४५ बजे एजुकेसन सिटी रंगशालामा हुनेछ ।
तेस्रो खेल समूह ‘सी’ मा रहेका मेक्सिको र पोल्याण्डबीच हुनेछ । खेल राति ९ः४५ बजे हुनेछ । उक्त खेल ९७४ वटा कन्टेनर प्रयोग गरेर बनाइएको अस्थायी रंगशाला ९७४ स्टेडियममा हुनेछ ।
त्यसैगरि, चौथो खेल समूह ‘डी’ मा रहेको साविक विजेता फ्रान्सले अष्ट्रेलियासँग खेल्ने छ । यो खेल मध्यराति १२ः४५ बजे अल जानोब रंगशालामा सुरु हुनेछ ।