नेपालीहरुले फिफा विश्वकप फुटबल हेर्न ५ सय तिर्नुपर्ने, चार महत्त्वपूर्ण खेल भने निःशुल्क हेर्न पाइने

काठमाडौं । कतारमा हुन गइरहेको फिफा विश्वकप फुटबल नेपालमा प्रत्यक्ष प्रसारण हुने/नहुने विषयमा सर्वोच्च अदालतले अतिरिक्त शुल्क लिएर प्रशारण गर्न मिल्ने आदेश दिएको छ।

बुधबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि सर्वोच्चकै एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो ।

कार्तिक २२ मा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विश्वकप देखाउन नेपाली दर्शकबाट प्रतिग्राहक ५ सय रुपैयाँ असूल्ने निर्णय तत्काल कार्यन्वयन नगर्न मिडिया हबको नाममा अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

आज दुवै पक्ष बीच छलफल भएपछि न्यायधीशद्वय प्रकाश कुमार ढुंगाना र डा. मनोजकुमार शर्माको संयुक्त इजलाशले उक्त अल्पकालीन अन्तरिम आदेशले निरन्तरता नपाउने फैसला गरेको हो । यस सँगै अब मिडिया हबलाई दर्शकसँग अतिरिक्त ५०० रुपैयाँ लिएर विश्वकपको प्रत्यक्ष प्रसारण देखाउने बाटो खुलेको छ ।

त्यस्तै, नेपाली दर्शकहरुले भने चार महत्त्वपूर्ण खेल निःशुल्क हेर्न पाउने छन् । मिडिया हब र हिमालयन टेलिभिजन नेटवर्कबीच भएको सम्झौता अनुसार उद्घाटनको खेल, दुई सेमी-फाइनल र फाइनल खेल सर्वसाधरणले निःशुल्क रुपमा हेर्न पाउने छन् ।

अन्य खेलहरू हेर्न इच्छुक दर्शकले मिडिया हबले निर्णय गरे बमोजिमको शुल्क तिरेर विश्वकप फुटबलका खेलसँगै अन्य कार्यक्रमहरू हेर्न सक्ने छन् ।

नेपालमा विश्वकप प्रसारणका लागि मिडिया हबले शुल्क बुझाएर फिफाबाट अनुमति पाएको थियो । आफूले तिरेको रकमको केही अंश दर्शकबाट उठाउने भन्दै उसले लाइभ हेर्नका लागि निश्चित शुल्क तोक्ने तयारी गरेको थियो । त्यसैबीचमा अदालतमा रिट परेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स