काठमाडौं । बिहीबारदेखि सुरु हुने भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणमा २५ वर्षे दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा अन्तिम हस्ताक्षर हुने भएको छ । सम्झौतामा आगामी १० वर्षभित्र भारतले नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने विषय समेत समावेश छ ।
यो सम्झौताले नेपालमा उत्पादित विद्युतका लागि निर्यातको बाटो सुनिश्चित गर्नेछ । सम्झौता पत्रमा ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतीय ऊर्जा सचिव पंकज अग्रवालले हस्ताक्षर गर्ने कार्यक्रम छ ।
विदेशमन्त्री जयशंकरको भ्रमणकै दौरान तीन वटा प्रसारणलाइनको उद्घाटन समेत हुँदैछ । १३२ केभीका कुशाहा–कटैया प्रसारणलाइन, रक्सौल–परवानीपुर प्रसारणलाइन र नौतनवा–मैनहिया प्रसारण लाइनको समेत यसै भ्रमणका दौरान उद्ेघाटन गरिने ऊर्जा मन्त्रालयले जानकारी गराएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका सिलसिलामा १७ जेठमा नेपाल र भारतबीच २५ वर्षका लागि भारतसँग विद्युत् व्यापारको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौतामा आगामी १० वर्षभित्र भारतले नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने विषय समेत समावेश छ । यो सम्झौताले नेपालमा उत्पादित विद्युतका लागि निर्यातको बाटो सुनिश्चित गर्नेछ ।