६ मेगावाटको चौरीखोला हाइड्रोपावर आयोजना निर्माण गर्न दुई सरकारी बैंकले गरे सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । दुई सरकारी बैंकको सह–लगानीमा अपर चौरीखोला हाइड्रोपावर आयोजनामा निर्माण हुने भएको छ । कर्णाली जलस्रोत लिमिटेड माउ कम्पनी रहेको हिमालय वाटर रिसर्च एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालि र दुई सरकारी बैंकबीच सह–लगानी गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले संयुक्त लगानी उक्त आयोजना निर्माण हुन लागेको हो । उक्त आयोजना १ अर्ब १२ करोड कुल लागतमा बन्न लागेको हो । सह–लगानी सम्बन्धी सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका सीइओ किरण कुमार श्रेष्ठ र कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् भने कम्पनीको तर्फबाट जुद्धबहादुर गुरुङले हस्ताक्षर गरेका हुन् ।

काभ्रे र सिन्धुपाल्चोकको बीचमा रहेको चौरीखोला जलविद्युत आयोजनामा ६ मेगावाट विद्युत उत्पादन हुनेछ । उक्त आयोजना कम्पनीको ३५ प्रतिशत र दुई बैंकको ६५ प्रतिशत लगानी हुने भएको छ । ६५ प्रतिशतलाई सय प्रतिशत मानेर राष्ट्रिय वाणिज्य बैंकले ६० प्रतिशत र कृषि विकास बैंकले ४० प्रतिशत लगानी गर्ने योजना बनाएका हुन् ।

राष्ट्रिय वाणिज्य बैंकका सिईओ श्रेष्ठले यस कम्पनी गर्न लागिएको लगानीले बैंकलाई जलविद्युत क्षेत्रमा थप नयाँ अनुभव प्राप्त हुने बताए । सीईओ श्रेष्ठले जलविद्युत क्षेत्रमा लगानीकर्ताबीच विवाद हुने र आयोजना अलपत्र पर्ने देखिएको भन्दै निर्धारित समय सीमा र लागतमै आयोजना सम्पन्न गर्नुपर्ने बताए ।

श्रेयठले भने ‘जलविद्युतमा लगानी गर्नेहरुबीच सुरुमा राम्रै सम्बन्ध भएपनि आयोजना बन्न लागेपछि गाडी कसले चढ्ने, सेयरलगायतका विषयलाई लिएर विवाद गर्ने र आयोजना अलपत्र परेका धेरै उदाहरण छन् । यो आयोजनामा त्यसो नहोस् समय र लागत सीमामै रहेर आयोजना सम्पन्न गर्नुहोला, थप सहकार्यको लागि तयार छौं ।’

त्यसैगरी बैंक कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्यायले आफूहरूले प्रतिवद्धता पूरा गर्ने भन्दै आर्थिक अनुशासन बस्न आयोजना कम्पनीलाई सुझाव दिए ।

व्यवसायीक कोणबाट आयोजना एकदमै राम्रो र सम्भवनायुक्त भएकोले आफूहरु लगानी गर्न तयार भएको बताए । सबै अध्ययन र प्रक्रिया पूरा गरेर सम्झौता गरेकाले आफूहरुबाट कुनै समस्या नहुने भन्दै आयोजना कम्पनीलाई सफलताको शुभकामना दिए ।
कार्यक्रममा हिमालयन वाटर रिसर्च एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीको माउ कम्पनी कर्णाली जलस्रोत लिमिटेडका अध्यक्ष लोकबहादुर रावतले सम्झौताअनुसारकै लागनी र समय सीमाभित्र आयोजना सम्पन्न गर्ने प्रतिवद्धता गरे । दुवै सरकारी बैंकले लागनी गर्नुलाई सफलता भएको भन्दै रावतले २०७९ को दशैंमा बत्ति बाल्ने गरी काम अगाडि बढेको जानकारी समेत दिए ।

दुबै सरकारी बैंकले लागनी गर्नु हाम्रो लागि खुशीको कुरा हो । सम्झौताअनुसार लगानी र समय सीमाभित्र आयोजना सम्पन्न गर्नेछौं । वर्षाको समयमा पनि काम रोकिने छैन, २०७९ को दशैंमा बत्ति बाल्ने गरी परियोजनालाई अगाडि बढाएका छौं ,’ अध्यक्ष रावतले भने ।

उक्त जलविद्युत आयोजनामा कर्णाली जलस्रोत लिमिटेडको ८० प्रतिशत सेयर रहेको जानकारी दिए । कार्यक्रममा हिमालयन वाटर रिसर्च तथा इनर्जी डेभलपमेन्ट कम्पनीका अध्यक्ष जुद्ध बहादुर गुरुङले सहभागी सबैलाई स्वागत गर्दै काबु बाहिरको अवस्था सिर्जना नभएसम्म निर्धारित समयमै आयोजना सम्पन्न प्रतिवद्धता गरे ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका डिसीइओ कबिराज अधिकारी, उपकार्यकारी प्रमुख देवेन्द्ररमण खनाल, विभागीय प्रमुख संदिपजंग कार्की, विभागीय उपप्रमुख विनयरमण पौडेललगायत पदाधिकारीको सहभागीत थियो भने कृषि विकास बैंकका उपमहाप्रवन्धक प्रताप सुवेदी, कर्जा तथा ट्रेड फाइनान्स विभाग प्रमुख मिनराज पौडेल, शिव भुसाललगायत उच्च अधिकारीहरुको सहभागीता थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स