काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो । अघिल्लो पटकको मूल्यभन्दा पेट्रोल प्रतिलिटर ८६ पैसा तथा डिजेल ३७ पैसा बढेर आएको निगमले जनाएको छ ।
आईओसीले आफ्नो लागत तथा कच्चा तेलको मूल्यका आधारमा नयाँ मूल्यसूची पठाउँछ । सो अनुसार निगमले नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने व्यवस्था छ ।
यो पटक पेट्रोलियम पदार्थको मूल्य सामान्य बढेर आए पनि नेपालमा परिवर्तन नगर्ने निगमले जनाएको छ । हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १५५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।