उद्योगीले टेरेनन् प्राधिकरणलाई, बुझाएनन् २ अर्ब ५५ करोडभन्दा बढी विद्युत महसुल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण हेटौंडा वितरण केन्द्रलाई यहाँका उद्योगले दुई अर्ब ५५ करोड ५२ लाख ८२ हजार आठ सय ४९ रूपैंयाँ बराबरको विद्युत् महसुल बुझाउन बाँकी छ ।

लामो समयदेखि पटक–पटक ताकेता गर्दा पनि चालु आर्थिक वर्षको हालसम्म ती उद्योगबाट महसुल नबुझाइएको उक्त केन्द्रले जनाएको छ । केही उद्योगविरुद्ध महशुलसम्बन्धी मुद्दासमेत चलिरहको छ । महसुल नतिर्ने पाँच सय ४२ उद्योगलाई कालो सूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ । कालोसूचीमा परेका केही ग्राहकबाट कारबाहीस्वरुप ७९ हजार दुई सय ४१ रूपैंयाँ सङ्कलन भएको बताइएको छ । चालु आवकोे हालसम्म पाँच हजार रूपैंयाँभन्दा बढी विद्युत् महसुल नतिर्ने नौ सय ७३ ग्राहकको लाईन काटेर कारबाही गरिएको केन्द्रका प्रमुख नरेन्द्रवीर श्रेष्ठले जानकारी दिए ।

कारबाहीमा परेपछि छ सय १७ जनाले जरिवाना तिरेर निवेदन दिएकाले लाइन जोडिएको र त्यसबाट दुई करोड ५३ लाख ९५ हजार रूपैंयाँ महसुल सङ्कलन भएको जनाइएको छ । हेटौंडामा ७२ हजार ६ सय ९४ ग्राहक रहेकामा वितरण केन्द्रले मासिक १९ करोड १७ लाख ८८ हजार रूपैंयाँ मूल्य बराबरको विद्युत् विक्री गर्दे आएको र १८ करोड छ लाख १२ हजार रूपैंयाँ महसुलबापत राजस्व सङ्कलन हुँदै आएको छ । साथै विद्युत् प्राधिकरणको पोल प्रयोग गरेबापत विभिन्न छ वटा इन्टरनेट कम्पनीले ५३ लाख ५० हजार रूपैंयाँ राजस्वसमेत बुझाएको बताइएको छ ।

यसैबीच ग्रामीण विद्युतीकरण अन्तर्गत जिल्लाका हेटौंडा उपमहानगरपालिकालगायत वकैया, राक्सिरागङ, मकवानपुरगढी, कैलाश, भीमफेदी गाउँपालिकाका साथै अन्य गाउँपालिकाको ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्युतीकरण थालिएको वितरण केन्द्रका इञ्जिनियर सन्तोष चौहानले वताए ।

सो कार्यका लागि १८ करोड रूपैंयाँभन्दा बढी बजेट छुट्याइएकामा कतिपय स्थानमा काम सम्पन्न भइसकेको छ भने कतिपय स्थानमा कार्य भइरहको बताइएको छ । मनहरिमा विद्युत् सवस्टेशन निर्माण प्रक्रियासमेत अगाडि बढेको जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स