काठमाडौं । सुपर मादी हाइड्रोपावरले मंसिर २० गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेकोमा आज आवेदन दिने(पुस ७ गते) अन्तिम दिन रहेको छ । सो आईपीओमा पुस २० गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरिएपनि मागभन्दा बढी आवेदन परेका कारण निष्काशन बन्द गर्न लागेको कम्पनीले जनाएको छ ।
कम्पनीले जारी पुँजीको १५ प्रतिशत अथार्त ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो । सोमध्ये आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं. ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरुको लागि ७ लाख ३५ हजार कित्ता निष्काशन गरेको हो ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
यस कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकाको सीमाना भएर बग्ने मादी नदीको बहाव सदुपयोग हुने गरी ४४ मेगावाट क्षमताको सुपार मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको अनुमानित लागत ८ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।
कम्पनीले २०७८ जेठ २८ गतेदेखि व्यवसासिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको थियो ।
यद्यपि, कोभिड र बाढी पहिरोका कारण सो सफल हुन नसकेको कम्पनीले बताएको छ।
कम्पनीले २०७३ चैत १७ गते विद्युत उत्पादन गर्ने अनुमति प्राप्त गरेको थियो। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.२८ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ११.१० वर्ष रहेको छ ।