त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम आजबाट जम्मा गर्न सेयरधनीलाई आह्वान

काठमाडौं । नेपाल सरकारको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत सञ्चालित त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको साधारण सेयर (आईपीओ)बापतको बाँकी रकम आज असोज ४ गतेबाट बुझाउन आह्वान गरेको छ ।

माग गरिएको ९० रुपैयाँमध्ये सेयरधनीहरुले प्रतिकित्ता ८७ रुपैयाँका दरले रकम भुक्तानी गर्नुपर्नेछ । रकम बुझाउने अन्तिम मितिसम्ममा प्रतिकित्ता ३ रुपैयाँका दरले ब्याज भएकोले ८७ रुपैयाँ बुझाउन कम्पनीले आव्हान गरेको हो ।

कम्पनीले २०७५ चैत ७ गतेदेखि ११ गतेसम्म जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो । सो सेयरमा अंकित मूल्यको दश प्रतिशतका दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरिएको थियो । सो सेयर २०७५ साल चैत १४ गते बाँडफाँट गरिएको थियो ।

सो सेयरमा प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका सेयरधनीहरुलाई बाँकी प्रतिकित्ता ९० रुपैयाँको दरले माग गरिएको हो । सेयरधनीहरुले कात्तिक १७ गतेसम्ममा सो रकम भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। कम्पनीबाट साविकका सर्वसाधारण शेयरधनीहरुलाई आव्हान गरेको चुक्ता हुन बाँकी रकम बुझाउनका लागि समयमा नै आफ्नो हितग्राही खाता र बैंक खाता अद्यावधिक गर्न र मेरोसेयर नविकरण गर्न कम्पनीले अनुरोध गरेको छ।

सेयर धनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत सेयरधनीहरुले रकम बुझाउन/आवेदन गर्न सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स