पूर्वी नेपालका तीन ठूला सवस्टेशन एकै पटक सञ्चालनमा आए

काठमाडौंं । नेपाल विद्युत् प्राधिकरणले एकै पटक पूर्वी नेपालका तीन ठूला सवस्टेशन सञ्चालनमा ल्याएको छ ।

नेपाल विद्युत् प्राधिकरणको निरन्तरको अनुगमन तथा परिचालनले एकै पटक पूर्वी नेपालका तीन ठूला सवस्टेशन निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो । प्राधिकरणले एकै दिन २२० किलो भोल्ट क्षमताका तीन सवस्टेशन सञ्चालनमा ल्याएको छ ।

प्रसारण पूर्वाधारको अभावमा निर्माण सम्पन्न भई सकेका जलविद्युत् आयोजनाहरुद्धारा उत्पादित विद्युत प्रसारण लाईनको क्षमताका कारणले अब खेर फाल्नुपर्ने छैन । उच्च क्षमताका प्रसारण पूर्वाधारका कारण नेपालका पूर्वी पहाडी क्षेत्रमा निर्माणाधिन र निर्माण जाने तयारीमा रहेका आयोजनाले अब निश्चिन्त भएर लगानी गर्न सक्नेछन् ।

प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेशनमा बिहीबारबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको छ । कूल २२०/१३२/३३ केभी तुम्लिङटार र २२०/३३ केभी बानेश्वर सवस्टेशनमा क्रमशः २६० एमभिए र ६० एमभिए क्षमताका पावर ट्रान्सफर्मर जडान भएका छन् ।

साथै कोशी करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत इनरुवा–तुम्लिङटार खण्ड सिङ्गल सर्किट प्रसारण लाइन २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । प्रसारण लाइनको लम्बाइ एक सय पाँच किलोमिटर छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सवस्टेसन सञ्चालनमा आएपछि प्रदेश नं १ का पहाडी जिल्लामा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रुपमा पूर्वाधार तयार भएको जानकारी दिए । उनले कूल २२० केभी प्रसारण लाइन र सवस्टेशन सञ्चालनमा आएपछि त्यस क्षेत्रमा भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने बताए ।

“मोरङ–सुनसरी औद्योगिक करिडोरमा सुनसरीको दुहवी सवस्टेसनबाट मात्र आपूर्ति हुँदा भोल्टेज, ट्रिपिङलगायतको समस्या थियो, अब दुहवी सवस्टेशनको लोड इनरुवा सबस्टेसनमा सार्न सकिने भएकोले उद्योगलाई थप विद्युत दिन सकिन्छ साथैं भोल्टेज, ट्रिपिङलगायतका समस्या समाधान हुन्छ”, उनले भने ।

संखुवासभा, भोजपुर र तेह्रथुम जिल्लाका विद्युत् आयोजनाका विद्युत गृह पनि ट्रिपिङ हुने समस्या थियो । अब त्यो समस्या पनि समाधान हुनेछ, कोशी करिडोर प्रसारण लाइनामार्फत आएको विद्युत् त्यस क्षेत्रमा खपत गरी बढी भएमा धनुषाको ढल्केबर सबस्टेशनमार्फत भारततर्फ निर्यात गर्न सकिने छ ।

नेपाल सरकारको लगानी र विश्व बैंकको सुहलितपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजना अन्तर्गत मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि २२०/१३२/३३ केभी इनरुवा सवस्टेशनको निर्माण गरिएको हो ।

नेपाल सरकारको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तुम्लिङटार, वसन्तपुर र बानेश्वरमा सवस्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो । इनरुवा सवस्टेसन सञ्चालनमा नआएकाले इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारण लाइनलाई अस्थायी रुपमा ३३ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो । संखुवासभाको किटिंगीडाँडादेखि सुनसरीको धरानसम्म ६६ किमि प्रसारण लाइन गत भदौदेखि ३३ केभीमा चार्ज गरिएको थियो ।

प्रसारण लाइन र सवस्टेसनमा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि स्रोत उपलब्ध हुँदा प्रणालीलाई विश्वसनीय र गुणस्तरीय बनाउने घिसिङले बताए । सुनसरी–मोरङ औद्योगिक करिडोको विद्युत् आपूर्ति सुधार, सुदृढीकरण र थप संरचनाका लागि इनरुवा सवस्टेसनबाट विराटनगरसम्म २३ किलोमिटर १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधिन छन् ।

इनरुवा सबस्टसनमै ग्याँस इन्सुलेटेड प्रणालीमा आधारित (जिआईएस) ४०० केभी सवस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । ४०० केभी सवस्टेशन निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्ने प्रसारण प्रणालीका लागि इनरुवा सवस्टेशन अर्को ठूलो हब बन्ने छ ।

अरुण तथा तमोर नदी र त्यसका सहायक खोलामा निर्माण गरिएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । कोशी करिडोरअन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु (ताप्लेजुङ) खण्ड र वसन्तपुरमा २२० केभीका सवस्टेसनको निर्माण ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख शुक्र देवकोटाले बताए ।

कोशी करिडोरको २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत सुनसरीको इनरुवावाट संखुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरिएको छ भने टावरको एक तर्फ मात्र तार तानिएको छ । अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैंकले दिएका सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि नौ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ ।

कोशी करिडोर प्रसारण लाइन आयोजनामार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुङ्गेसाँघु (ताप्लेजुङ) देखि बसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिन्छ ।

अरुण र तमोर नदी र तिनीहरुका सहायक नदीबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रिडमा आबद्ध गर्न निर्माणधीन कोसी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो । एक नम्बर प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स