काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सहरी सौन्दर्यलाई वृद्धि गर्न ‘उज्यालो र सफाइ सहर अभियान’ सञ्चालन गर्ने भएको छ । प्राधिकरणले यो अभियानअन्तर्गत मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरूमा स्मार्ट लाइटजडान गर्न लागेको हो ।
प्राधिकरणले स्थानीय तहहरुसँगको सहकार्यमा ऐतिहासिक धार्मिक, सांस्कृति, विश्व सम्पदामा सूचीकृत स्थानहरू र सडकलाई राति उज्यालो बनाउन स्मार्ट वत्ति जडान गर्न अभियान नै चलाएको छ ।
काठमाडौ, पोखरा र ललितपुरको दोस्रो फेजको स्मार्ट सडक वत्ति जडानको लागि ठेक्का सम्झौता हुने अन्तिम चरणमा रहेको छ । उज्यालो सहर अभियानअन्तर्गत काठमाडौंको कोटेश्वर– भक्तपुर र कोटेश्वर–कलंकी सडक खण्ड, मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा राखिएका वत्तिलाई हटाएर स्मार्ट लाइट जडान प्रकृया अगाडि बढिसकेको कार्यकारी निर्देशक घिसिङले बताए ।
भरतपुर महानगरपालिका, झापाको कन्काई, दोलखाको भीमेश्वर, उदयपुरको बेलका, कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्मार्ट सडक वत्ति जडान भैरहेको छ ।
उज्यालो सहर अभियानबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र राति खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । साथै सफाइ अभियानअन्तर्गत मुख्य तथा सहायक सडकहरुमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तारहरु हटाउने पनि मेयर शाक्यले जानकारी दिए ।
बिजुली, टेलिफोन तथा इन्टरनेटका तारहरुलाई भूमिगत गर्ने कार्य अघि बढी सकेको छ,’ शाक्यले भने ‘ पहिलो चरणमा उज्यालो र सफाइ सहर अभियान संघीय राजधानी काठमाडौं उपत्यका, भरतपुर एवम् पर्यटकीय पोखरा महानगरपालिकामा चलाइने र त्यसपछि विस्तार गर्दै देशभरी नै सञ्चालन गरिने छ ।
सहरलाई कुरुप बनाएका विभिन्न सेवा प्रदायकहरुको तारको जालोलाई हटाएर हाम्रै भूमिगत प्रणालीमा राखिने छ’, घिसिङले भने, ‘हाल भइरहेको जमिन माथिको (ओभरहेड) वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरुप बनाइरहेको तारको जालो हटी सौन्दर्यता कायम राख्न सहयोग पुग्ने उनले बताए ।
‘अहिले प्रयोगमै नरहेका अनावश्यक पोलहरु जताततै देखिन्छन्, त्यसलाई हटाउन सुरु गरिसकेका छौं,’ उनले भने ‘विद्युतीय तारलाई भूमिगत बनाउन पहिलो चरणमा काठमाडौंको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा धमाधम काम भइरहेको छ ।’
प्राधिकरणले स्मार्ट लाइट जडानका लागि देशभरका नगरपालिकाहरुसँग प्रस्ताव माग गरेको छ । हाल देशभरका २० वटा नगरपालिकाबाट आएको माग बमोजिम स्मार्ट लाइन जडान कार्यलाई कार्यान्वयनमा लैजाने तयारी प्राधिकरणले गरिरहेको छ ।
काठमाडौंको कीर्तिपुर, बूढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, काभ्रेको धुलिखेल, नुवाकोटको विदुर, कैलालीको धनगढी, बाँकेको कोहलपुर, दाङको लमही तथा तुलसीपुर, मकवानपुरको हेटौडा, उदयपुरको गाईघाट, मोरङको सुन्दर हरैंचा, धनुषाको जनकपुर, लगाएतका नगरपालिकाहरुले स्मार्ट लाइन जडानको माग रहेका छन् ।
विश्व सम्पदा सूचीकृत पशुपतिनाथ, स्वयम्भू, बौद्धनाथ, वसन्तपुर दरबार, पाटन दरबार, भक्तपुर दरबार, लुम्बिनी, जनकपुर, मुक्तिनाथ आदि क्षेत्रमा स्थानीय नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा सजावटयुक्त स्मार्ट लाइट जडान गरिने छन् । सडकका मुख्य चोकहरुमा बढी उज्यालो दिने ठूलो वत्ति (लाइटिङ मास्ट) राखिने छ ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आफ्नो कार्ययोजनामार्फत वितरण लाइन तथा सवस्टेशनको क्षमता वृद्धी गर्दै वितरण प्रणालीको गुणस्तर सुधार गर्ने बताइन् । सहरी क्षेत्रमा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यलाई विस्तार गर्दै लैजाने घोषणा यस अघि नै गरिसकिएको छ । यही घोषणालाई कार्यान्वयन गर्न प्राधिकरणले ‘उज्यालो र सफाइ सहर अभियान’ चलाउन लागेको हो ।
प्राधिकरणले अहिले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउन काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम भइरहेको छ । दोस्रो चरणमा काठमाडौंका बाँकी रहेका ठाउँहरु, ललितपुर, भक्तपुर, पोखरा, भरतपुरको तार भूमिगत गर्ने काम अगाडि बढाउने बताइएको छ ।
विद्युतको तारसँगै अप्टिकल फाइबर पनि बिछ्याइने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरुले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् ।
प्राधिकरणले उज्यालो सहर अभियान नगरपालिकाहरुसँगको समन्वय र सहकार्य अघि बढाउने भएको छ । नगरपालिकाहरुको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान कार्य सम्पन्न गरिने छ । बत्ती जडानको लागि लागत अनुमान, प्रविधिको छनोट, खरिद र निर्माणको सुपरीवेक्षण प्राधिकरणले गर्ने छ ।