विद्युत संकटका बेला वरदान बन्दै माथिल्लो तामाकोशी, उच्च मागको अवधिमा ४ घण्टा भन्दा बढि ४५६ मेगावाटको पूर्ण क्षमतामा विद्युत उत्पादन

काठमाडौं । विद्युत माग बढि हुने सुख्खा मौसममा राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजन वरदान सावित भएको छ । हाल माथिल्लो तामाकोशीबाट ४ देखि ६ घण्टाको अवधिमा ४५६ मेगावाटको पूर्ण क्षमतामा विद्युत उत्पादन हुँदै आएको छ ।

सुख्खा मौसमका कारण देशमा सञ्चालित अन्य जलविद्युत आयोजनाबाट कम क्षमतामा विद्युत उत्पादन भइरहेका बेला अर्धजलाशययुक्त माथिल्लो तामाकोशीबाट आफ्नो लक्ष्यभन्दा बढी विद्युत उत्पादन गर्नुको अतिरिक्त माग व्यवस्थापन गर्न माथिल्लो तामाकोशी जलविद्युत परियोजनाको उल्लेखनिय योगदान रहेको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठले जानकारी दिए ।

‘तामाकोशीले यस सालको सुख्खायामको उच्चमागको समयमा भारतबाट महँगो मूल्यमा धेरै परिमाणमा विद्युत खरिद गर्न नपर्ने गरी यो समयमा दैनिक ४ देखि ६ घण्टासम्म ४५६ मेगावाटको पुर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेको छ,’ उनले भने ‘चैत महिनामा हिंउ पग्लिने दर औसत भन्दा बढि रहेकोले लक्ष्यभन्दा १५ देखि २० प्रतिशत बढी विद्युत उत्पादन हुनसक्नेछ ।’

आयोजनाले विद्युत कम खपत हुनेबेलामा आयोजनाबाट खपत हुने विद्युत सञ्चित गरी पिक आवरमा उत्पादन गर्ने गरेका उनले हाम्रोअर्थलाई जानकारी दिए ।

अर्धजलाशययुक्त आयोजनाको कारण माथिल्लो तामाकोशीबाट देशलाई बढी विद्युत आवश्यक पर्ने बेलामा बढी क्षमतामा विद्युत उत्पादन गर्न सकिरहेका छौं,’ सीईओ श्रेष्ठले थपे ‘यसले देशलाई ठूला राहत मिलेको छ भने विदेशी मुद्रा बाहिरनबाट पनि बचाएको छ ।’

अहिले तामाकोशीबाट ७२ गिगावाट आवर विद्युत उत्पादन भइरहेको छ । तामाकोशीबाट भएको उत्पादनले नेपालको विद्युत प्रणालीमा यो विषम परिस्थितिमा पूर्ण सहयोग गरेकोे छ । परियोजना सञ्चालनमा आएको साउनदेखि चैतसम्म १०० प्रतिशत विद्युत उत्पादन भएको श्रेष्ठले जानकारी दिए ।

तामाकोशी निर्माण सुरु भएको ११ वर्षपछि गत असार तेस्रो साताबाट सञ्चालनमा आएको बहुचर्चित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाले गर्दा नै अहिले भारतबाट न्युन विद्युत आयात भइरहेको छ ।

आयोजनामा जडित ७६–७६ मेगावटका ६ यूनिटहरु मध्ये साउन २८ गतेसम्म ४ वटा यूनिटबाट विद्युत उत्पादन सुरु भएको र भदौ महिनाबाट ६ वटै यूनिटबाट व्यापारिक प्रयोजनका लागि विद्युत उत्पादक शुरु भएको हो । नेपाल सरकारको करिब ८० करोड रुपैयाँमा निर्माण भएको उक्त आयोजनाले अहिले अपार सफलताका साथ संकटकालमा राहत दिने हिसावले विद्युत उत्पादन गरिरहेको छ ।

नेपालका आन्तरिक जलविद्युत आयोजनाहरू पूर्ण रूपमा सञ्चालन हुने वर्षायाममा पनि नेपाल विद्युत प्राधिकरणले भारतबाट दैनिक २ सय मेगावाट विद्युत आयात गरिरहेको थियो । तामाकोशी सञ्चालनमा आएपछि वर्षायाममा भारतबाट विद्युत आयात गर्न नपर्ने भएको छ भने हिउँद वा सुख्खा याममा पनि यसले नेपाल विद्युत प्रणालीमा ठूलो सहयोग मिलेको छ ।

तामाकोशीबाट यदि अहिले पनि शतप्रतिशत विद्युत उत्पादन गर्न नसकिएको भए हाल भारतबाट आयात भएको भन्दा बढी विद्युत खरिद गर्नुपर्ने अवस्था आउन सक्थ्यो । हाल नेपालमा १६ सय ५० मेगावाट विद्युत माग रहेको छ भने २४ घण्टाको पिकिङ उत्पादन भने १४ सय मेगावाट रहेको प्राधिकरणले जनाएको छ । गत वर्ष ८०० मेगावाट विद्युत भारतबाट आयात गर्नु परेको थियो भने यस वर्ष माथिल्लो तामाकोशीले थेगेको कारण ३५० मेगावाट मात्र आयात गर्दै आएको जनाएको छ । यो कुल खपतको ३० प्रतिशत हो ।

हाल प्राधिकरणले १२ हजार आवर विद्युत भारतबाट आयात गर्दै आएको छ । प्राधिकरणले अझै डेढ महिना भारतबाट विद्युत आयात गर्नुपर्ने जनाएको छ । जेठ मसान्तदेखि भने नेपालको कुल उत्पादन दुई हजार मेगावाटसम्म पुग्ने भएकाले भारतलाई ५ सय मेगावाटसम्म विद्युत विक्री गर्ने लक्ष्य प्राधिकरणले राखेको छ भने थप ८ सय मेगावाट विद्युत भारतमा निर्यात गर्ने गरी प्रक्रिया अघि बढाइसकेको जनाएको छ । यसैबीच हिजो बुधबारमात्रै नेपाल विद्युत प्राधिकरणलाई भारतीय विद्युत् बजारमा थप ३२५ मेगावाट विद्युत बिक्री गर्न स्वीकृति दिएको छ ।

यससँगै नेपाललले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावाट विद्युत बिक्रीको अनुमति पाएको छ । यसअघि २०७८ कात्तिकमा पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युतगृहबाट उत्पादित ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)मा बिक्री गर्न स्वीकृति दिइएको थियो ।

यस्तो छ तामाकोशीको वित्तीय अवस्था

राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशीले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ४ करोड १६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ शीर्षक ८३ करोड २३ लाख रुपैयाँ ऋणात्मक छ ।

चालु आवको दोस्रो त्रैमास पुससम्म कम्पनीले अन्य स्रोतमार्फत १ लाख १६ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३३ पैसा ऋणात्मक छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ३३ पैसा ऋणात्मक थियो । यसको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ १४ पैसा छ । गत असारसम्मको तथ्यांक अनुसार कम्पनीको ४० अर्ब ५ करोड रुपैयाँ दीर्घकालीन ऋण रहेको छ ।

यो आर्थिक वर्ष कम्पनी क्युमिलेटिभ लशमा रहेपनि अर्को वर्षदेखि भने आम लगानीकर्तालाई लाभांश बाड्न सक्ने अवस्थामा पुग्नेछ ।

‘आयोजना पूर्ण रुपमा सञ्चालनमा आएको साउनदेखि चैतको यो अवधिसम्म शतप्रतिशत नै विद्युत उत्पादन भएको छ,’ उनले भने ‘पिक आवरमा त अझ १५ देखि २० प्रतिशतसम्म बढी इनर्जी उत्पादन गरिरहेका छौं ।’ चैत महिनामात्रै १० प्रतिशत बढी इनर्जी उत्पादन हुने देखिएको छ ।’

त्यसो त अहिले पनि नदीको वहाव कम भएको छैन । हिउँ पग्लिएकोले पानीको सतह नघटेको र अर्धजलाशययुक्त आयोजना भएकाले पनि इनर्जी उत्पादनमा कुनै असर देखिएको छैन । अपेक्षा भन्दा बढी उत्पादन गर्न सफल भएको सीईओ श्रेष्ठले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स