हिरो मोटोकर्पले इलेक्ट्रिक सवारीका लागि ब्याट्री अदलावदली स्टेशन निर्माण गर्ने, ताइवानी कम्पनी गोगोरोको २५८ मिलियन अमेरिकी डलर लगानी

एजेन्सी । हिरो मोटोकर्पले इलेक्ट्रिक सवारीसाधनका ब्याट्री स्वैपिङ (अदलावदली) प्रविधि विकास गर्ने भएको छ । यसका लागि हिरो मोटोकर्पमा ताइवानी कम्पनी गोगोरोले लगानी गर्ने भएको छ । गोरोरोले ब्याट्री स्वैपिङ सम्बन्धी प्रविधिका लागि २५८ मिलियन अमेरिकी डलर अर्थात करिब १८ सय करोड भारु लगानी गर्नेछ ।

यो एक हप्ता भित्र हिरो मोटोकर्पले घोषणा गरेको दोस्रो ठूलो लगानी हो । यस अघि भारतीय दुई पांग्रे सवारी निर्माताले इलेक्ट्रिक स्कुटर स्टार्टअप एथर एनर्जीमा ४२० करोड भारु लगानी गर्ने घोषणा गरेको थियो ।

ताइवानी कम्पनी गोगोरो इलेक्ट्रिक सवारीमा ब्याट्री स्वैपिङ सुविधा प्रदान गर्ने विश्वको ठूलो कम्पनी हो । गोगोरोले हल्का इलेक्ट्रिक सवारीसाधनका लागि संसारको कयौं देशमा ब्याट्री स्वैपिङ सर्भिस प्रदान गरिरहेको छ । गोगोरोले आफ्नो ब्याट्री स्वैपिङ स्टेशनमा ग्राहकको डिस्चाज्र्ड ब्याट्री परिवर्तन गरेर पूर्ण चार्ज भएको ब्याट्री प्रदान गर्छ । यो सर्भिस हरेक दिनको शुल्क वा मासिक सब्सक्रिप्सनको आधारमा दिइने छ ।

साथै, गोगोरोको ब्याट्री स्वैपिङ स्टेशनमा इलेक्ट्रिक सवारीसाधन चार्ज गर्ने सुविधा पनि उपलब्ध छ । कम्पनीले ५ वर्षभन्दा पनि कम समयमा १५० अमेरिकी डलरभन्दा बढीको राजस्व उठाएको छ । हाल साढे ४ लाख भन्दा धेरै ग्राहक गोगोरोको ब्याट्री स्वैपिङ स्टेशनबाट लाभ लिइरहेका छन् ।

सन् २०२१ को अप्रिलमा हिरो मोटोकर्पले गोगोरोसँगको साझेदारी घोषणा गरेको थियो । हिरो मोटोकर्पले यस वर्षको मार्चमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने तयारी गरेको छ । यस्तोमा हिरोको इलेक्ट्रिक स्कुटरको लागि आवश्यक चार्जिङ पूर्वाधार तयार गर्न गोगोरोले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

हिरो मोटोकर्पले यस वर्ष आफ्नो इलेक्ट्रिक स्कुटर भारतीय बजारमा सार्वजनिक गर्ने पूरा तयारी गरेको छ । कम्पनीले गत वर्ष ‘विदा’ नामको इलेक्ट्रिक स्कुटरका लागि नयाँ ब्राण्ड टे«डमार्क दर्ता गराएको छ । दर्ता गरिएको ट्रेडमार्क नामबाट कम्पनीले भविष्यमा इलेक्ट्रिक मोटरसाइकल बजारमा ल्याउने छ । इलेक्ट्रिक स्कुटरको ब्राण्डको विषयमा भने कम्पनीले हालसम्म कुनै आधिकारिक घोषणा गरेको छैन ।

गत वर्ष हिरो मोटोकर्पका अध्यक्ष पवन मुन्जालले कम्पनीको पहिलो इलेक्ट्रिक स्कुटरको कन्सेप्ट मोडलको खुलासा गरेका थिए । उक्त स्कुटर पातलो डिजाइनका साथै ब्लैक र ह्वाइट रंगको कम्बिनेसनमा पेश गरिएको थियो । स्कुटरको अघि १२ इन्च र पछिल्लो भागमा १० इन्चको अलो ह्वीलस लगाइएको थियो । स्कुटरको फ्रन्टमा टेलीस्कोपिक फोर्क र रियरमा मोनोशक सस्पेसन लगाइएको छ । स्कुटरको डिजानइ एक साधारण पेट्रोल इन्जिन जस्तै छ । स्कुटरको पछाडी सिंगल साइडेड स्विगआर्म दिइएको छ । मोटरलाई पछिल्लो चक्कामा जोड्नका लागि बेल्ट ड्राइभको प्रयोग गरिएको छ । कम्पनीले स्कुटरमा स्प्लिट सिट र पछाडी बस्नका लागि ग्रैब रेल दिएको छ ।

सन् २०१० मा भएको एक पारिवारिक सम्झौता अनुसार हिरो मोटोकर्पका पवन मुन्जाल कुनै पनि इलेक्ट्रिको २, ३ वा ४ पांग्रे सवारीलाई ‘हिरो’ ब्राण्ड नामको उपयोग गर्न सक्दैनन् । यस सम्झौता अनुसार इलेक्ट्रिक हिरो ब्राण्डको अधिकार पवन मुन्जालका भाइ विनय मुन्जाल र उनका छोरा नवीन मुन्जालसँग रहेको छ ।

हिरो इलेक्ट्रिकसँग भारतीय इलेक्ट्रिक टू–ह्वीलर सेगमेन्टको ३६ प्रतिशत मार्केट सेयर छ । सन् २०२१ मा ६५ हजार यूनिट भन्दा धेरै इलेक्ट्रिक स्कुटर हिरोले बिक्री गरेको छ । हिरो इलेक्ट्रिकसँग आफ्नो इलेक्ट्रिक सवारीसाधनमा ‘हिरो’ ब्राण्ड उपयोग गर्ने अधिकार छ । पारिवारिक सम्झौता अनुसार हिरो मोटोकर्प कुनै पनि इभी व्यवसायका लागि हिरो ब्राण्डको उपयोग गर्न पाउने छैन ।

हिरो इलेक्ट्रिक र हिरो मोटोकर्प आफ्नो इलेक्ट्रिक सवारी (इभी) व्यवसायका लागि हिरो ब्राण्ड प्रयोग गर्नका लागि अदालत पनि पुगिसकेका छन् । इलेक्ट्रिक सवारी व्यवसायमा हिरो ब्राण्डको विशेष उपयोग गर्ने विषयमा हिरो इलेक्ट्रिकले हिरो मोटकर्पका अध्यक्ष पवन मुन्जाल विरुद्ध दिल्ली उच्च न्यायालयमा मद्दा दायर गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स