इजरायल दीर्घकालीन स्याहार केन्द्रमा जाने प्रहरी रिपोर्ट र स्वास्थ्य परीक्षण मंसिर ११ सम्म सक्ने

काठमाडौं । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान अन्तिम छनोटमा परेका स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको प्रक्रिया आइतबारबाट अगाडि बढाएको छ । विभागले यसअघिको स्वास्थ्य परीक्षण गर्न बाँकी रहेका ६७५ युवाको लागि स्वास्थ्य परीक्षण प्रक्रिया अघि बढाएको हो ।

यसअघि स्वास्थ्य परीक्षण गरेकासहित मंसिर ११ गतेसम्म एक हजार १७५ स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको काम पूरा हुनेछ । विभागका अनुसार यसअघि नामावली सार्वजनिक भएकामध्ये कात्तिक २९ देखि मङ्सिर ५ सम्म ५०० स्वास्थ्य परीक्षण गरिसकेका छन् ।

इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक पठाउने प्रयोजनका लागि इजरायलको जनसंख्या तथा अध्यागमन निकाय (पिवा)द्वारा चिट्ठा प्रणालीबाट असोज २५ गते छनोट भएका एक हजार १७५ को नाम सार्वजनिक गरेको थियो ।
विभागले तोकिएका युवाको स्वास्थ्य परीक्षणको काम पूरा भएपछि सो रिपोर्ट इजरायलको पिवामा पठाउने र त्यहाँबाट रोजगार सम्झौताको प्रक्रिया अघि बढ्नेछ ।

विभागका स्वास्थ्य परीक्षणका लागि स्टार अस्पताल सानेपा, हेम्स अस्पताल मण्डिखाटार, नेपाल मेडिसिटी अस्पताल भैँसेपाटी र मनोमहन मेमोरियल मेडिकल कलेज स्वयम्भूमा स्वास्थ्य परीक्षण गर्न सकिने जनाइएको छ । स्वास्थ्य परीक्षण गर्नका लागि प्रतिव्यक्ति आठ हजार ९०० रुपैयाँ तिर्नुपर्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स