काठमाडौं । आफ्नै दम्भका कारणले प्रधानमन्त्री बन्नबाट शेरवहादुर देउवा चुकेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गर्दा सबभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको दम्भले सरकारको नेतृत्व गर्ने अवसर उनीहरूको हातबाट टुटेको हो । चुनावमा सबैभन्दा ठूलो पार्टी भएपनि गठबन्धनबीच सहमति जुटाउन नसक्दा अर्थात कांग्रेसको हातबाट प्रधानमन्त्री तथा राष्ट्रपति बन्ने अवसर गुमेको हो ।
दोस्रो ठूलो दल नेकपा एमाले र तेस्रो दल माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टी र अरु साना दलहरू समेटेर नयाँ सरकार बनाउने सहमति गरेसँगै कांग्रेस प्रतिपक्षमा बस्ने निश्चित भएको हो ।
आइतबार बिहानसम्म कांग्रेस सत्ता गठबन्धन जोगाउन प्रयासरत थियो । तर, राष्ट्रपति र प्रधानमन्त्री दुवै छाड्न नचाहेपछि माओवादी गठबन्धन छाडेर एमालेको साथ खोज्न पुगेको हो । एमाले अध्यक्ष ओली निवास बालकोटमा आइतबार बसेको बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीका नेताहरु सहभागी भएका थिए ।