काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा एक सय ६२ जना निर्वाचित हुँदा १० उम्मेदवार जम्मा दुई सय मतभन्दा कम मतान्तरले पराजित भएका छन् ।
प्रदेशगत हिसाबले हेर्दा प्रदेश नं १ बाट पाचँथर-१ मा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङले ४६ मतले नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेलाई, इलाम-२ मा एमालेका सुवासचन्द्र नेम्वाङले एक सय १४ मतले कांग्रेसका डम्बरबहादुर खड्कालाई, सुनसरी-४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले एक सय १२ मतले एमालेका जगदीशप्रसाद कुसियैतलाई पराजित गरेका छन् ।
मधेस प्रदेशबाट धनुषा-२ मा कांग्रेसका रामकृष्ण यादवले एक सय ५७ मतले एमालेका उमाशंकर अरगरियालाई, धनुषा-४ मा एमालेका रघुवीर महासेठले एक सय २४ मतले कांग्रेसका महेन्द्र यादवलाई, पर्सा-३ मा एमालेका राजकुमार गुप्ताले एक सय ६७ मतले कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई पराजित गरेका छन् ।
बागमती प्रदेशबाट काठमाडौं-१ मा कांग्रेसका प्रकाशमान सिंहबाट एक सय २५ मतले राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र पराजित भएका छन् । लुम्बिनी प्रदेशबाट दाङ-२ मा नेकपा (माओवादी केन्द्र)का रेखा शर्माले एक सय ९३ मतले एमालेका शंकर पोख्रेललाई, बर्दिया-२ मा स्वतन्त्रबाट लालवीर चौधरीले एक सय ३६ मतले नेकपा (माओवादी केन्द्र) का सुरेश पन्थलाई पराजित गरेका छन् ।
कर्णाली प्रदेशबाट दैलेख-२ कांग्रेसका दिक्पालकुमार शाहीले एक सय ६७ मतले एमालेका लक्ष्मीप्रसाद पोखरेललाई पराजित गरे । समग्रमा पार्टीगत हिसाबले हेर्दा एमालेबाट चार, कांग्रेसबाट चार, माओवादी केन्द्रबाट एक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना दुई सयभन्दा कम मतान्तरले पराजित भएका छन् ।