सुनसरी–४ मा कार्कीको सकसपूर्ण जित

काठमाडौं । प्रदेश १ सुनसरी–४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की निर्वाचित भएका छन् । कार्कीले ११२ मतान्तरले नेकपा एमालेका केन्द्रीय सदस्य जगदीशप्रसाद कुसियैतलाई पराजित गरेका हुन् । २८ वटा संघीय निर्वाचन क्षेत्र मध्ये मतगणनाको अन्तिम क्षेत्र बनेको हो ।

अन्तिम मतपरिणाम अनुसार सरकार प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । पराजित भएका कुसियैतले ३० हजार ३७१ मत पाएका छन् ।

कार्कीले बराहक्षेत्र नगरपालिका–१० को अन्तिम २०० मत गन्न बाँकी हुँदा ३१ मतले अगाडि थिए कांग्रेसले निरन्तर अग्रता लिएको उक्त वडाकै मतले कार्की निर्वाचित भएका हुन् । मतगणनास्थल इनरुवास्थित भगवती मावि प्राङगणमा कांग्रेसका सयौं नेता कार्यकर्ता विजय उत्सवको तयारी रहेका थिए ।

सुनसरीका चारवटा निर्वाचन क्षेत्रमध्ये १ मा जसपाका अशोक राई, २ मा भीम आचार्य र ३ मा भगवती चौधरी निर्वाचित भइसकेका छन् । क्षेत्र नम्बर ४ मा एमाले नेता कुसियैत र कार्कीबीच सुरुवाती गणनादेखि नै कडा टक्कर थियो ।

मतगणनाको अधिकांश परिणाम कुसियैतका पक्षमा देखिएपछि मन्त्री कार्कीले गणनामा धाँधली भएको भन्दै विरोध जनाएका थिए । विरोधका कारण तीन दिनसम्म मतगणना रोकिएको थियो ।

आफ्नो प्रभावक्षेत्र रहेको सुनसरीको कोसी गाउँपालिका–६ मा एमालेका कुसियैतले अग्रता बनाए पनि गणना बाँकी रहेको बराहक्षेत्र–१० ले पुनः कार्कीलाई साथ दिएको हो । बराहक्षेत्र–१० मन्त्रीकै मतदान केन्द्र भएको वडा पनि हो । सुनसरी ४ मा ८१ हजार १८१ मत खसेको जनाइएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स