काठमाडौं । यही मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा फिल्मकर्मीहरूले दिएको उम्मेदवारीको राम्रै चर्चा भयो । प्रायः पार्टीको प्रचारप्रसारमा मात्र देखिने फिल्मकर्मीहरू यसपटक चुनावी मैदानमा देखिए । रिल लाइफबाट चुनावी मैदानमा होमिने कलाकारको सङ्ख्या उच्च थियो ।
यद्दपि सफलता पाउनेको सङ्ख्या निकै कम छ । प्रत्यक्षको तुलनामा समानुपातिकमा फिल्मकर्मी सांसद बन्ने सम्भावना बढेको छ । राष्ट्रियसभा सदस्य रहिसकेकी गायिका कोमल वलीले नेकपा (एमाले)बाट दाङको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले पराजित गरे ।
गायिका वलीले २९ हजार ९२ मत प्राप्त गर्दा निर्वाचित गिरीले ३६ हजार नौ सय ११ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मोरङ क्षेत्र नं ३ मा उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापा १० हजार नौ सय ९८ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भइन् ।
सो क्षेत्रमा नेपाली कांग्रेसका सुनिलकुमार शर्मा निर्वाचित भए । काभ्रे–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका फिल्म निर्देशक तथा समीक्षक मनोज पण्डितले एक सय ७३ मत मात्र प्राप्त गरे । उनले आफूले प्राप्त गरेको मतको सम्मान गर्दै सक्रियता बढाउने बताए । ‘उम्मेदवारी दण्डहिनताका विरुद्ध थियो । सामाजिक व्यवस्थापनका लागि आवाज सधैं उठाइरहनेछु’, निर्देशक पण्डितले भने ।
काठमाडौं क्षेत्र नं ६ बाट स्वतन्त्र उम्मेदवारी दिएका गायक सञ्जय श्रेष्ठले पाँच सय ७७ मत मात्र प्राप्त गरे । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल निर्वाचित भए । काठमाडौं क्षेत्र नंम्बर १ को प्रदेश (२) मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) तर्फ उम्मेदवारी दिएका फिल्म अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठले ६७ मत प्राप्त गरे ।
‘यसपटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिएका फिल्मकर्मीले केही न केही सिकेका छन्, चुनावी मैदानको सिकाइले आउँदो समयमा यसक्षेत्रमा विकास गर्न र एकताबद्ध हुन् मद्दत गर्नेछ’, वितरक श्रेष्ठले भने । सो क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार सुरजचन्द्र लामिछाने निर्वाचित भए ।
यस्तै कमेडियन हिमेश पन्त, टेलिभिजन शङ्खला ‘सक्किगो नि’मा ‘सिते बा’ को भूमिकाबाट परिचित मधुसुधन पाठक, कलाकार सम्राट सापकोटा, कलाकार राज तिमल्सेनाले निर्वाचनमा हार बेहोर्नुप¥र्यो । प्रत्यक्ष निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्यतर्फ धादिङको क्षेत्र नं १ को (१) बाट उम्मेदवारी दिएका निर्माता तथा अभिनेता मधुकुमार श्रेष्ठ र प्यूठान–१ को (२) बाट प्रदेशसभा सदस्यतर्फ उम्मेदवारी दिएका फिल्म निर्माता तथा अभिनेता रोज राणा (सरोज थापा) निर्वाचित भएका छन् । निर्माता श्रेष्ठले १७ हजार आठ सय ३२ र निर्माता राणा २२ हजार पाँच सय १९ मत प्राप्त गर्दै निर्वाचित भएको हो ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृति संघबाट राजनीतिमा समेत सक्रिय रहेका ‘जोगिन्दर’ को उपनामले परिचित हास्यकलाकार शिवशंकर रिजाल आउँदो निर्वाचनमा कलाकर्मी चुनावी मैदानमा बढ्ने देखिन छ ।
समानुपातिक सूचीमा चलचित्रकर्मी
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष झैं समानुपातिकमा समेत फिल्मकर्मी छन् । सिरहाबाट प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेपालसँगै बलिउडमा समेत अभिनयका प्रसिद्ध अभिनेता तथा गायक एवं संगीतकार मुरलीधर (मुरली मिझार) उम्मेदवार हुन् ।
मोरङबाट फिल्म निर्माता, निर्देशक, प्रदर्शक तथा वितरक उद्धव पौडेल राप्रपाबाटै प्रतिनिधिसभातर्फको समानुपातिक उम्मेदवार हुन् । यही पार्टीबाट फिल्म निर्माता तथा प्रदर्शक प्रदीपकुमार उदय लुम्बिनी प्रदेशसभाको समानुपातिक उम्मेदवार हुन् । राप्रपाको लुम्बिनी अध्यक्षसमेत रहेका उदय केही वर्षयता फिल्मभन्दा पनि राजनीतिमा सक्रिय हुन् ।
कालोपोथी निर्देशन गरेर चर्चा कमाएका फिल्म निर्देशक मीनबहादुर भाम नेपाली कांग्रेसको समानुपातिक उम्मेदवार हुन् । उनको नाम मुगुबाट खसआर्य तर्फ राखिएको छ ।
फिल्म निर्देशक असिम शाह राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि मुस्लिम खुला तर्फको समानुपातिक उम्मेदवार हुन् । नेपाल जनता दलको वरिष्ठ उपाध्यक्षसमेत रहेका फिल्म निर्माता रघु परियार समानुपातिक तर्फ उम्मेदवार हुन् ।