जुम्ला १ (१) मा स्वतन्त्र उम्मेदवार शाही विजयी

जुम्ला । जुम्ला निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (१) मा स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले एक हजार आठ सय ९९ मतान्तरले विजयी भएका छन् ।

आज सम्पन्न मतगणनामा स्वतन्त्र उम्मेदवार शाही विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले बताए । शाहीले कूल नौ हजार छ सय ५४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेस पार्टीका कर्णाली प्रदेश सभापति ललितजंग शाहीले सात हजार सात सय ५५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार धीरेन्द्रराज गिरीले पाँच हजार चार सय ७० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । त्यस्तै नेमकिपाका राजेश्वर देवकोटाले छ सय ९४ मत प्राप्त गरेका छन् । सो प्रदेशसभामा २४ हजार सात सय ५५ मत खसेको थियो । एक हजार ८२ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचित प्रदेशसभा सदस्य शाही विसं २०७४ को प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका गजेन्द्रबहादुर महतसँग झन्डै दोब्बर मतान्तरले पराजय भएका थिए । कांग्रेसले प्रदेशमा टिकट नदिएपछि शाहीले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।

जिल्लाको दुईवटै प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले हार बेहोर्नुपरेको छ । जुम्लामा गठबन्धन ‘क्लिन स्वीप’ भएको छ । जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि निर्वाचन भएको थियो । प्रदेशसभा सदस्य (२) मा एमालेका टेकराज पछाईं निर्वाचित भइसकेका छन् । प्रतिनिधिसभा सदस्यको मतगणना चलिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स