काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फ चुनाव गराउने क्रममा देशभर ११ जिल्लामा गोली चलेको छ । ११ वटा जिल्लाका विभिन्न २४ ठाउँमा सुरक्षाका लागी गोली चलाएको हो । ताप्लेजुङ, रौतहटको गरुडा र कनकपुरमा प्रहरीले गोली चलाएको छ । सिरहाको मिर्चैया बडहरमालामा ३ राउन्ड गोली चलेको छ ।
चितवनको राप्ती नगरपालिकामा प्रहरीले गोली चलाएको छ । राप्ती नगरपालिका–८ स्थित ब्रम्हस्थली राष्ट्रिय आधारभूत माविमा मतदान प्रक्रिया अवरुद्ध गर्न खोजिएपछि हवाइ फायर गरिएको चितवनका एसपी नवराज अधिकारीले जानकारी दिए ।
बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु हुनाका साथै तीनजना गम्भीर घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर स्थानीय सञ्जीव ऐडीको घटनास्थलमै मृत्यु भएको हो ।
सुरक्षाकर्मीको गोली लागेर स्थानीय परशुराम उपाध्याय, खड्क ऐडी र प्रेम थापा गम्भीर घाइते भएका छन् । बाजुरा सदरमुकाम मार्तडीस्थित बडिमालिका–९ कालिका मावि मतदानस्थलमा समेत प्रहरीले हवाई फायर गरेको थियो । सो ठाउँमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको थियो ।
बाजुराको बूढीनन्दा नगरपालिका, बूढीगङ्गा नगरपालिकालगायतका केही पालिकामा विवाद भएपछि मतदानसमेत स्थगन भएको छ ।