मौन अवधिमा प्रचार–प्रसार गरे २५ हजार जरिवाना, के के गर्न हुँदैन ?

काठमाडौं । मौन अवधि सुरु भएपछि कुनै पनि पार्टी तथा उम्मेद्वारले प्रचारप्रसार गरे २५ हजार जरिवाना तिर्नुपर्ने व्यवसथा गरिएको छ । मंसिर ४ गते आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु भएको छ ।

निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घन्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था छ ।

यस अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन पाइने छैन । यता, मौन अवधिको उल्लंघन गरे आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना हुने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधि यो यो गर्न पाइदैन

  • निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन,  कार्यशाला गोष्ठी गर्न नपाइने
  • मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने
  • कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने
  • सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोस्ट वा शेयर गर्न, गराउन नहुने
  • प्रचार प्रसार वा मत माग्न साउन्ड सिस्टम, एसएमएस, सामाजिक सञ्जाल वा अन्य कुनै साधनको प्रयोग गर्न नहुने
  • मतदान सुरु हुनु तीन घण्टा अघिदेखि मतदान कार्य नसकिएसम्म कसैले पनि मतदाता वा कर्मचारीलाई बाधा पुर्‍याउने काम गर्न नहुने
  • बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज भतेर गर्न, कुनै पनि प्रकारको जुलुस, प्रदर्शन, समारोह वा सभा गर्न र होहल्ला वा हुल हुज्जत गर्न नमिल्ने
  • मतदान केन्द्र आसपासको भवन र निजी क्षेत्रमा शान्ति भङ्ग गर्ने वा भय त्रासको वातावरण बनाउने वा चुनाव बिथोल्ने कुनै पनि गतिविधि गर्न नमिल्ने
  • दल, उम्मेदवार र भातृ सङ्गठनहरूले सामाजिक सञ्जालमार्फत गरेका विज्ञापन र प्रचार प्रसारका सामग्री हटाउनुपर्ने

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स