काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले २०४६ सालपछि सत्तामा गएका जिम्मेवार व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राप्रपा शक्तिमा पुगेमा २९ वर्षयताका जम्मेवार व्यक्तिको सम्पत्तिमाथि छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने बताएका हुन् ।
‘राप्रपा शक्तिमा पुगे भ्रष्टाचारीहरुमाथि डोजर चलाउँछ,’ उनले भने ‘काठमाडौं महानगरपालिका मेयर बालेन साहले अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपाको भ्रष्टाचारीहरू माथि डोजर चलाउँछ ।’
उनले एक नागरिक आयोग गठन गरी वि.सं.२०४६ सालपछि जिम्मेवारी पाएका राज्यका उच्चपदस्थहरूको सम्पती छानबिन गरी अवैध सम्पती जफत गर्ने पनि बताए । अध्यक्ष लिङदेनले भ्रष्टाचारको विरुद्धमा आफू निरन्तर लागिरहेको उल्लेख गर्दै आफू संसदमा एक्लो भएकाले आगामी निर्वाचनबाट आफूलाई संसदमा साथी दिलाइदिन आम मतदातासँग आग्रह गरे ।
आफूले पाँच वर्ष संसदमा खेलेको भुमिका राम्रो लागेको भए आफूसँगै राप्रपाका अन्य उम्मेदवारहरुलाई पनि जिताउन उनले आग्रह गरे ।
अध्यक्ष लिङदेनले पुराना दलहरुलाई फेरिपनि मतदान गर्नु देशलाई बर्बाद गर्नु भएको टिप्पणी गरे । काठमाडौं र धरानको स्थानीय तहको मत परिणामजस्तै गरी राप्रपाको पक्षमा परिणाम आउनुपर्ने भन्दै बाकस खोल्दामात्रै थाहा हुनेगरी हलो चुनाव चिन्हमा मतदान गर्न उनले आग्रह गरे ।
उनले वर्तमान राजनीतिक व्यवस्था र नेतृत्व असफल भइसकेकाले अब नेतृत्व परिवर्तन गर्नुपर्ने अर्थात विकल्प खोज्नु पर्ने उनले बताए ।