काठमाडौं क्षेत्र नम्बर–५ मा पौडेलको पल्ला भारी, नयाँ र पुरानामध्य कसलाई रोज्लान् आम मतदाताले ?

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–५ मा पुराना र नयाँ उम्मेदवारहरूको प्रतिस्पर्धा हुने भएको छ । यो क्षेत्रबाट दर्जन स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
यस अघि २०७४ सालको चुनावमा नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतलाई करिब १० हजार मतान्तरले नेकपा एमालेका नेता ईश्वर पोखरेलले चुनावमा विजय हासिल गरेका थिए । अहिले सोही क्षेत्रबाट नेकपा एमालेबाट ईश्वर पोखरेल नै मैदानमा उत्रिएका छन् भने कांग्रेसले नयाँ अनुहार प्रदिप पौडलेलाई चुनावी प्रतिस्पर्धामा उभ्याएको छ ।

पौडेल र पोखरेलको रोजाइमा परेको यो क्षेत्रमा नयाँ सोच विचारका साथ मैदानमा उत्रिएका दर्जन स्वतन्त्र उम्मेद्वार पनि चुनावी दौडमा सहभागि भएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा मेयरमा उम्मेदवारी दिएर चर्चामा आएकी रञ्जु दर्शना पनि यहि क्षेत्रबाट उम्मेद्वार बनेकी छिन् ।

हाँस्य कलाकार मधुसुदन पाठक (सीते बा), इञ्जिनियर सुशान्त श्रेष्ठदेखि हेमराज थापा, श्रीराम गुरुङ, विनिता अर्याल, बाबुराम पोखरेल, गोपीलाल न्यौपाने, विजक कँडेल, कृष्णलाल श्रेष्ठ, शान्तिराम पाण्डे, कुमार कोइराला, नारायणप्रसाद दाहाल, शैलेन्द्र बस्नेत, रमेश केसी लगायत १२ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । कांग्रेस प्रवक्ता प्रकाशशरण महत, अर्थशास्त्री स्वर्णिम वाग्ले, नेता नैनसिंह महरलगायत धेरै आकांक्षी रहेपनि प्रदीपले काठमाडौं–५ बाट टिकट पाए ।

काठमाडौं क्षेत्र नम्बर ५ बाट पहिलोपटक उम्मेदवार बनेका तनहुँ गृह जिल्ला भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप काठमाडौं क्षेत्र नम्बर ५ का लागि फ्रेस उम्मेद्वार हुन् । उनको यहि फ्रेसनेशको कारणले अघिल्लो सत्ता चाखिसकेका काठमाडौं क्षेत्र–५ का वौद्धिक र विवेशील मतदाताबीच नयाँ हुईम उत्पन्न भएको छ ‘नयाँलाई रोज्ने, पुरानालाई छोड्ने’ काम गर्ने अवसर दिने, दिगो विकासलाई सार्थक बनाउने पौडेललाई पहुँच र पक्कडमा पुर्याउने ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीतिबाट उदाएका प्रदीप पौडेल स्वच्छ छवि भएका युवा नेतामा गनिन्छन् । युवाहरूको रोजाइ युवा नै हुनु पर्छ भन्ने अभियान युवाहरूले चलाएका छन् । त्यसैले त सत्ताको चास्नीमा वर्षाैदेखि डुबुल्की मारेका बयोबृद्ध नेताहरुलाई ‘नो नट एगेन’ अभियान टाउको दुखाइको विषय बनेको छ ।

त्यहि अभियानको विपक्षीमा परेका छन ईश्वर पोखरेल । काठमाडौं क्षेत्र–५ का जनताले उनले उक्त क्षेत्रमा दिएको योगदानको मूल्यांकन समेत विगत कार्यकालमै गरिसकेका छन्, दुई तिहाईको मन्त्रीमण्डलमा बसेर । त्यसैले त जान पहिचान भएका विवादमा मुछिएका नेता हुन् पोखरेल । कोरोनाको महामारिमा ओम्नी काण्डमा मुछिएका उनलाई मतदाताले नयाँ ‘टेष्ट’ लाई रोज्छन् कि पुरानालाई नै चुन्छन् त्यो भने हेर्न बाँकी नै छ ।

यहि क्षेत्रको मतबाट केपी ओली सरकार भएका बेला उपप्रधानमन्त्री समेत बनिसकेका पोखरेलको नाडी मतदाताले छामिसकेका छन् । विपद् र महामारीमा पनि उनको प्राथमिकतामा कहिले पनि त्यहाँका मतदाता परेनन् । उनी स्वार्थको राजनीति लडिरहे । पद र पहुँचमा पुग्दा मतदातालाई चटक्कै बिर्सेका पोखरेल मतदाताबीच कसरी प्रस्तुत हुन्छन्, यसको मूल्यांकन मतदाताले गरेका छन् र आगामी दिनमा पनि अवश्य गर्ने छन् ।

विश्वभर महामारीको रुपमा आएको कोरोनाकालमा सबै डाडू पन्यू आफ्नै हातमा भएर पनि त्यहाँका आमनागरिक जसले उनलाई भोट दिएर त्यो स्थानसम्म पुर्यायो, उनीहरूलाई कहिले सम्झेनन् । विपद पर्दा कहिले अभिभावकत्व भूमिका निर्वाह गर्न सकेनन् । केही निश्चित व्यक्तिको काँधमा चढेर स्वार्थमा लिप्त भएर राजनीति गरे । पोखरेलको यहि कार्यशैलीका कारण आमजनता रिझिनुको सट्टा चिडिएका छन् ।

काठमाडौं– ५ को भूगोलको राजनीतिमा प्रदीप नयाँ हुन्, त्यही नयाँ हुनुको लाभ उनलाई रहेको उनका सहयोगीहरू बताउँछन् । युवाको रोजाइमा युवा भन्ने जुन अभियानकै रुपमा चलेको लहड छ त्यो उनका लागि बरदान साबित नहोला भन्न सकिन्न ।

सांसद मन्त्रीजस्ता सुविधाको पदमा नपुगेका प्रदीपलाई कांग्रेसले ‘फ्रेस उम्मेद्वार’ भनेर प्रचार गरेको छ । केही हदसम्म युवाहरूको साथ आकर्षण उनले पाएका छन् ।

‘राजनीतिक दलको विरोध गरेर स्वतन्त्र उम्मेदवारी दिएकाहरूले पनि प्रदीप पौडेलको विरोध गर्न सकेका छैनन्, त्यो नै उनको महत्वपूर्ण र ठूलो पुँजी हो । अहिलेसम्म कुनै लाभको पदमा नबसेको र युवा नेता भएकाले चुनाव जित्छौं,’ प्रदीप जिताऔं अभियानमा लागेका काठमाडौं– ५ का एक नेताले भने ।

उम्मेदवारी दिएका प्रदिप पौडलले अर्को चुनावसम्म आम नागरिकले कांग्रेसलाई खोजी खोजी भोट हाल्ने बनाउने बताएका छन् । ‘यो क्षेत्रलाई नमूना क्षेत्रको रुपमा बनाउन चाहन्छु,’ उनले भने ‘कसैले उदाहरण दिँदा यो क्षेत्रको सांसदजस्तो होस् भन्ने बनाउने मेरो प्रतिवद्धता हो ।’

तर, विगत ५ वर्ष अघिको अवस्था र परिवेश र राजनैतिक पाटी र अझ विशेष गरि राजनैतिक व्यक्तिलाई हेरिने र बुझिने दृष्ट्रिकोणमै परिवर्तन आएको छ भने ‘६० वर्ष माथिका लागि मतदान नगरौ सम्मानपूर्वक बिदा गरौ’ भनेर चर्चित कलाकारहरूले पनि अभियान नै चलाइ रहेछन् भने युवाले युवाहरूको भविष्य निर्धारण गर्ने हो वृद्धहरूले होइन भन्ने युवा पंक्तिमा यस भावनाको संञ्चार भएको छ जस्ले विगतका मतमातान्तरहरूलाई परिवर्तन गरि दिन्छ । र यो ५ वर्षको अवधिमा नावालिकहरू वालिक भैसकेका छन र उनीहरू परिवर्तनको पक्षमा छन् जस्ले नयाँलाई अगाडि ल्याउन मतदान गर्ने छन् । यी गतिविधि र युवाको लगाव अनि कामको मूल्यांकनलाई हेर्दा काठमाडौं क्षेत्र नम्बर ५ पौडेलको पल्ला भारी देखिएको छ ।

काठमाडौं–५ अन्तर्गत काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६ र ७ वडाहरू गरी १५ वटा समेटिएको छ ।

यस्तो छ २०७४ को प्रतिनिधिसभाको चुनाव र २०७८को स्थानीय चुनावको मतपरिणाम
२०७४ को आम निर्वाचनमा उम्मेदवारहरूले पाएको मतः
ईश्वर पोखरेल/एमाले–२३०२९
डा.प्रकाशशरण महत/कांग्रेस– १३१६९
उज्ज्वल थापा/विवकेशील साझा– ६८५३

२०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं– ५ अन्तर्गत पर्ने वडाहरुका अध्यक्ष उम्मेदवारले पाएको एकीकृत मतः

एमाले– १९०७३
कांग्रेस– १४८५३
माओवादी केन्द्र– ११६८
एकीकृत समाजवादी– १८२७
राप्रपा– २६२२

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स