काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभामा पुराना तथा नयाँ अर्थमन्त्री बन्न सक्ने अनुहार उल्लेख्य देखिएको छ । प्रतिनिधिसभाको चुनावमा राजनीतिक दलहरूबाट आधा दर्जनभन्दा बढी पुराना तथा नयाँ अर्थमन्त्री अर्थात अर्थमन्त्री बन्ने क्षमता राख्ने व्यक्तिहरू चुनावी प्रतिस्पर्धामा उत्रेका हुन् ।
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाकोे चुनावका विशेष गरी औद्योगिक तथा व्यवसायिक घरानाबाट एक १ दर्जन उद्यमी व्यवसायी प्रत्यक्ष चुनावमा उत्रिए पनि चौधरी ग्र्रूपमा अध्यक्ष विनोद चौधरी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले पनि सोही प्रतिस्पर्धामा छन् ।
उद्यम व्यवसायमा उपल्लो तहमा पुगेर डलर अर्बपति बनेका विनोद चौधरी अर्थमन्त्री बन्न सक्ने क्षमतावान उम्मेदवार हुन् । जसरी उनले आफ्नो उद्यम व्यवसायलाई अन्तर्राष्ट्रियस्तरसम्म विस्तार गर्न सफल भए त्यसरी नै उनले देशलाई समृद्ध बनाउन महत्वपूर्ण भुमिका खेल्न सक्ने विश्वास गर्न सकिन्छ ।
अर्को उम्मेदवार विश्व पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्षको पद छाडेर चुनावमा होमिएका छन् । अर्थशास्त्री पौडेलले चुनावी नतिजा आफ्नो हात पार्न सक्ने भने अर्थमन्त्री बन्ने देखिएको छ । चौधरी र पौडेल दुबै अर्थमन्त्री बन्न ल्यागत राख्ने कांग्रेसका प्रत्यक्ष उम्मेदवार हुन् । उनी चितवन १ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । पौडेलले चुनावमा प्रतिस्पर्धा गर्नकै लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
पौडेलको प्रतिस्पर्धामा नेकपा एमालेमा सरकारमा रहँदा अर्थमन्त्री बनेका सुरेन्द्र पाण्डे प्रतिस्पर्धामा उत्रिएका छन् । यसपटक पनि चितवन १ बाट चुनावी प्रतिस्पर्धा गर्दैछन् । चितवन १ मा सेयर लगानीकर्ता हरि ढकाल र रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् ।
यहि चुनवाी मैदानमा अर्का अर्थशास्त्री स्वर्णिम वाग्ले पनि उत्रने कुरा थियो । देउवा नजिक भएर पनि उनले भने यस वर्ष टिकट हात पार्न सकेनन् । उनी काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने हल्ला चलाइएको थियो । पछि उनलाई चितवन पठाउने भने पनि अन्तिम टिकट दिइएन ।
बहालवाला अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवार बनेका छन् । उनको प्रतिस्पर्धा एमालेका नन्दराम देवकोटासँग हुने भएको छ । नेकपा माओवादीको तर्फबाट शेरबहादुर नेतृत्वको कांग्रेस, माओवादी र समाजवादी गठबन्धनमा अर्थमन्त्री रहेका उनी यसअघि प्रचन्ड प्रधानमन्त्री हुँदा ऊर्जामन्त्री बनेका थिए ।
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अर्थमन्त्री रहेका विष्णु पौडेलले रुपन्देही २ बाट उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनको तर्फबाट रुपेन्देही २ मा नेकपा समाजवादीका राजु गुरुङले उम्मेदवारी दिएका थिए । चेक बाउन्सका कारण गुरुङ संलग्न कम्पनी कालोसूचीमा रहेकाले निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको छ ।
प्रचण्ड प्रधानमन्त्री हुँदा अर्थमन्त्री बनेका वर्षमान पुन यसपटक पनि माओवादीको आधारसिला रोल्पाबाट चुनावी मैदानमा उत्रिएका छन् । उनको प्रतिस्पर्धा नेकपा एमालेका पूर्णबहादुर बुढा मगरसँग हुनेछ ।
पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि कांग्रेसको कोटामा सुनसरी ४ बाट चुनाव लड्दैछन् । कार्की हालको देउवा क्याविनेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री छन् । उनले नेकपा एमालेका जगदीश कुसियतसँग प्रतिस्पर्धा गर्दैछन् ।
प्रकाश चन्द लोहनी र पशुपतिशमशेर राणालाई उक्त पार्टीले समानुपातिक समूहको सूचीमा समावेश गरेको छ । दुवै राप्रपाको तर्फबाट विभिन्न समयमा अर्थमन्त्री रुपमा समेत कार्यभार सम्हालिसकेका छन् । दबवैले आफू वरिष्ठ दाबी गर्दा गोलाप्रथाबाट राणालाई समानुपातिक समूहको पहिलो र लोहनीलाई दोस्रो नम्बरमा राप्रपाले उम्मेदवार बनाएको छ ।
गिरिजाप्रसाद कोइारालाको क्याबिनेटमा प्रायःअर्थमन्त्रीको रुपमा प्रस्तुत हुने डा.रामशरण महतले यसपटक उम्मेदवारको टिकट नै नपाएका कारण निर्वाचनमा भाग लिन पाएनन् । २०७४ को निर्वाचनमा उनी नुवाकोट १ बाट चुनाव लडेका थिए ।
त्यसैगरी माओवादी सरकारमा रहँदा प्रधानमन्त्री र अर्थमन्त्री बनेका डा.बाबुराम भट्टराई पनि यसपटक चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । डा.भट्टराईले आफ्नो सट्टामा काठमाडौं ७ बाट आफ्नो छोरी मानुषीलाई टिकट दिलाएर गोरखाको आफ्नो क्षेत्र प्रचण्डलाई छोडिदिएका छन् ।
मनमोहन अधिकारीको एमाले शासनकालका अर्थमन्त्री बनेका भरतमोहन अधिकारीको निधन भइसकेको छ भने केपी ओलीका कार्यकालमा अर्थमन्त्री बनेका पूर्व गभर्नर समेत रहेका डा. युवराज खतिवडाले भने प्रत्यक्ष र समानुपातिक कतै पनि अटाएनन ।
२०४७ को राजनीतिक परिवर्तन पछिको पहिलो कांग्रेसको पहिलो अर्थमन्त्री महेश आचार्यले मोरङ ४ बाट उम्मेदवार सिफारिस भएर पनि टिकट पाएनन । माओवादी सरकारका अर्थमन्त्री तथा सभामुख कृष्णबहादुर महराले स्वेच्छाले उम्मेदवार नहुने बताएका छन् ।