काठमाडौं । उदयपुरका मुख्य निर्वाचन अधिकृत दीपक खनालले जिल्लामा निर्वाचनको मत गणना सम्पन्न नहुँदै मुख्य निर्वाचन अधिकृतको कार्यभारबाट राजीनामा दिएका छन् ।
जिल्ला न्यायाधीश समेत रहेका मुख्य निर्वाचन अधिकृत खनालले आइतबार स्वास्थ्यको कारण पदभार पूरा गर्न नसकेको कारण देखाएर राजीनामा दिएका हुन् । उनले राजीनामा दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको हो ।
जिल्लाको ९८ मतदान केन्द्र रहेका छन् । मतगणना कार्य बाँकी रहेको र जिल्लाकै त्रियुगा नगरपालिका–१२ स्थित जनप्रेमी मतदान केन्द्रमा शुक्रबार मतदान अधिकृतको लापरबाहीका कारण दुई हजार मतदाता मतदान गर्नबाट वञ्चित रहेपछि सो मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने राजनीतिक दलहरुको माग उठिरहेको बेला मुख्य निर्वाचन अधिकृत खनालले राजीनामा दिएको बताएका छन् ।
जिल्लाको आठ पालिकामध्ये अहिले पनि त्रियुगा नगरपालिका, कटारी नगरपालिकासहित धेरै स्थानमा मतगणना नै सुरु भएको छैन ।