पुनर्निर्मित नमुना मच्छिन्द्र माध्यमिक विद्यालय भवनको उद्घाटन

ललितपुर । प्रधानमन्त्री शेरबहादर देउवाले भूकम्पपछिको पुनर्निर्माणाका क्रममा विद्यालयहरुको भौतिक सुधारपश्चात गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने बेला आएको बताएका छन् ।

ललितपुरको लगनखेलस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्मित नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएकोमा जोड दिए ।

‘भूकम्पबाट क्षतिग्रस्त ७ हजार ५५३ विद्यालयमध्ये ६ हजार ६४४ विद्यालयहरुको पुनर्निर्माण सम्पन्न भइसकेको छ । अब गुणस्तरीय शिक्षामा सबैको ध्यान जाने विश्वास लिएको छु’, प्रधानमन्त्री देउवाले भने ।

प्रधानमन्त्री देउवाले सामुदायिक विद्यालयहरुको गुणस्तर अभिबृद्धि गर्न सरकारले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको र भविष्यमा थप कार्यक्रमहरु ल्याउने जानकारी पनि दिए ।

उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले विपत्तिले अवसर पनि ल्याउने उल्लेख गर्दै जीर्ण भएका ललितपुरका दर्जनौं विद्यालय भवनहरुको पुनर्निर्माण भएकोमा खुशी व्यक्त गरे । मन्त्री भुसालले शिक्षाको गुणस्तर बृद्धिमा ध्यान दिन सुझाव पनि दिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणका क्रममा भूकम्प प्रभावित जिल्लाहरुमा भूकम्पप्रतिरोधी तथा सुविधासम्पन्न विद्यालय निर्माण भएको उल्लेख गर्दै पुनर्निर्माणका क्रममा भूकम्प प्रतिरोधी प्रविधि जनतासम्म पुगेको बताए । ज्ञवालीले पुनर्निर्माणका मूलभूत कामहरु सम्पन्न भएको, केही कामहरु आजैबाट सम्बन्धित निकायमा हस्तान्तरण हुने जानकारी पनि गराए ।

उक्त पुनर्निर्मित विद्यालयमा १८ वटा कक्षाकोठा, विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर कक्ष लगायत छन् । जापान सरकारको ऋण सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले उक्त विद्यालयको पुनर्निर्माण गरेको हो । विद्यालयको लागत रकम भ्याट बाहेक १२ करोड ३० लाख रुपैयाँ छ ।

२००८ सालमा स्थापना भएको विद्यालयमा हाल ९७२ छात्र तथा ५२२ छात्रा अध्ययन गरिरहेका छन् । त्यसैगरी, दृष्टिविहीन २० छात्रा तथा १७ छात्रका लागि आवास सहित अध्ययनको सुविधा छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स