४ महिनामा उच्च शिक्षा हासिल गर्न बाहिरियो २२ अर्ब ६० करोड रुपैयाँ

काठमाडौं । कोभिड संक्रमणकालीन अवस्थाबाट विश्व बजारमा केहि राहत मिलेसँगै विदेशमा पढ्न जाने नेपाली विद्यार्थी ह्वात्तै बढेका छन् । गत आर्थिक वर्षको पहिलो चौमासमा उच्च शिक्षा हासिल गर्नको लागि १० अर्ब ७० करोड नेपालबाट बाहिरिएको थियो ।

यस वर्ष यो अवधिमा सो शीर्षकमा २२ अर्ब ६० करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकका सह प्रवक्ता नारायण प्रसाद पोखरेलले जानकारी दिए ।’ नेपालबाट उच्च शिक्षाका लागि सो रकम बाहिरिएपनि कतिले ‘नो अब्जेक्शन लेटर’ लिए भन्ने तथ्यांक भने राष्ट्र बैंकसँग नभएको पनि उनले जानकारी गराए । ‘कतिपय विद्यार्थीले यहिबाट कलेज भर्ना भएर पढिरहेका हुन्छन् भने कतिपय विदेशमै गएर पनि बढेका हुन्छन् ।

यस सम्बन्धमा राष्ट्र बैंकसँग यथार्थ तथ्यांक हुँदैन ।’ नेपालबाट बाहिरिएको रकम राखिएपनि सम्बन्धित निकायमाबाट त्यस्तो खालको तथ्यांकको रिपोर्टिङ नभएको र हामीले पनि यस विषयमा थप सूचना माग नगरेको सह प्रवक्ता पोखरेलले जानकारी दिए ।

वर्षभरिमा ८०/८५ अर्ब उच्च शिक्षा हासिल गर्नको लागि बाहिरिन्छ,’ उनले भने ‘यस वर्ष यो अवधिसम्म उच्च शिक्षाको लागि बाहिरिएको रकम त्यति धेरै होइन ।’ आर्थिक वर्ष २०२१/०२२ मा विदेशमा उच्च शिक्षाका लागि ६७ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो ।

नेपाली विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विभिन्न मुलुक जाने क्रम वर्षेनी बढेसँगै नेपालबाट विदेश जाने रकम पनि बढ्दै गएको हुन् । शैक्षिक परामर्शदाता संस्थाहरूको अनुमानमा उच्च शिक्षाका लागि विदेश जाने नेपालीहरू बढेका कारण यस्तो रकम पनि वर्षेनी बढ्दै गएको हो । पछिल्लो समय नेपालमा शिक्षाका राम्रा अवसरहरू केहि देखिएपनि पर्याप्त छैनन्, पढाइ पश्चात रोजगारीका अवसरहरू पर्याप्त छैनन् । सो कारण विदेश जाने प्रचलन बढ्दो छ ।

विशेष गरी नेपालबाट अष्ट्रेलिया, जापान, अमेरिका, कोरिया, बेलायत, जर्मनलगायत अन्य यूरोपियन देश, बंगलादेश। चीन र भारतमा गएको देखिन्छ । पछिल्ला वर्षहरूमा पढ्नका लागि विदेश जाने क्रम उच्च वर्गमा मात्रै नभइ मध्यम वर्गीय परिवारमा पनि बढ्दै गएकोले नेपालबाट रकम बाहिरिने क्रम बढ्दै जाने शिक्षा क्षेत्रका जानकारहरूले चिन्ता व्यक्त गरेका छन् ।

सार्वजनिक कलेज र विश्वविद्यालय सुधार गर्नैपर्ने, गुणस्तरीय पढाइ सुनिश्चित गर्नुपर्ने र त्यसका लागि सबैभन्दा ठूलो कुरा राजनीतिक हस्तक्षेप बन्द हुनुपर्छ । विश्वविद्यालयहरू गुठी जस्ता सार्वजनिक निकायहरूले सञ्चालन गर्ने व्यवस्था गरिनुपर्ने भन्दै उनले अहिलेको प्रणालीले जवाफदेहिता र गुणस्तरीय शिक्षा दुवै सुनिश्चित गर्न नसक्ने उनको भनाइ छ ।

पछिल्लो समय मुलुकको विदेशी मुद्रा सञ्चिति दबाबमा परेको छ। योसँगै कतिपयले शिक्षा लिनकै लागि बाहिरिने रकम रोक्न यसमा कडाइ गर्नुपर्ने तर्क गरिरहेका छन् । नेपाली शिक्षा प्रणालीले अभिभावक र विद्यार्थी दुबैको विश्वास जित्ने अवस्था नआएसम्म उच्च शिक्षा हासिल गर्न देशबाट बाहिर जान चाहने युवाहरूको संख्यामा कमी नआउने उनीहरूको दृष्टिकोण रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स