अनलाइन संस्कार कक्षालयको शुभारम्भ

काठमाडौं । बालबालिकाहरुलाई असल संस्कार सिकाउने अनलाइन कक्षा ‘संस्कार कक्षालय’को शुक्रवार शुभारम्भ गरिएको छ । सुसंस्कार एवं योग अभियन्ता डा. राजु अधिकारीको अग्रसरतामा सुरु भएको संस्कार कक्षालयको चर्चित फ्रेन्च लेखक एवं विश्वकै खुसी व्यक्ति डा.म्याथ्यु रिचार्डको उपस्थितिमा भर्चुअल माध्यमबाट शुभारम्भ गरिएको हो । अब हरेक शनिबार र आइतबार बिहान ७ः३० देखि ९ः३० बजेसम्म र दिउँसो २ः३० देखि ४ः३० बजेसम्म अनलाइनमार्फत बालबालिकाका लागि संस्कार कक्षालय सञ्चालनमा आएको छ ।

संस्कार कक्षालयको शुभारम्भ कार्यक्रममा बोल्दै डा.रिचार्डले अहिलेको समयमा संस्कारी शिक्षा अत्यन्त उपयोगी हुने भएकाले डा.अधिकारी लगायत उनको विज्ञ समूहलाई बधाई तथा शुभकामना व्यक्त गरे । शिक्षा लिनुको मुख्य उदेश्य नै असल मानव बन्नु रहेको भन्दै उनले असल शिक्षाले नै मानिसलाई खुसी राख्न मद्धत पुग्ने बताए ।

डा.रिचार्डले आप्mना र आफ्ना स्वार्थका लागि मात्र सोच्ने व्यक्ति जीवनमा कहिल्यै सफल हुन नसक्ने भन्दै अरुको खुसीमा आफ्नो खुसी देख्ने व्यक्ति नै संसारको सफल र सुखी व्यक्ति बन्ने बताए । अरुलाई दुःखी बनाउने भन्दा पनि कसरी अरुको राम्रो गर्न सकिन्छ भन्नेमा आफ्नो समय खर्चिनुपर्ने उनको भनाई थियो ।

गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले आफ्नो व्यवहारमा लागु गरेर मात्र संस्कार सिकेको अर्थ रहने बताए । संस्कार कुनै उमेर समुह र समयका लागि मात्र नभएर सबै र सँधैका लागि अत्यावश्यक रहेको भन्दै डा.महतोले संस्कार कक्षालयबाट सबैले फाइदा लिनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै अक्षरा स्कुलकी प्रिन्सीपल अञ्जु भट्टराईले बालबालिकाको पहिलो पाठशाला भनेकै आफ्नो घर भएकाले संस्कार घरबाटै शुरु हुनुपर्ने बताए । उनले वालसुलभ मस्तिष्कमा अहिले संस्कारको विजारोपण गर्न सके भविष्यमा अत्यन्त सकारात्मक मनोविज्ञानको विकास हुने बताए ।

शनिवारबाट शुरु हुने संस्कार कक्षालयमा असल संस्कार, संस्कारयुक्त दिनचर्या, बाल–योगाभ्यास, संस्कार प्रार्थना र श्लोकहरु, स्मरण शक्ति, एकाग्रता, मातापितालाई सम्मान, असल बानी व्यवहारलगायत विषयहरु समेटिने डा. अधिकारीले बताए । आधुनिक शिक्षा प्रणालीले कुनै पनि व्यक्तिलाई पेशागत सफलतामा पु¥याए पनि सुसंस्कार सिकाउन नसक्दा मानवीय मूल्य–मान्यता संकटग्रस्त बन्दै गएको डा. अधिकारीको भनाइ छ । ‘खुसी भएर जीवन जिउन असल संस्कार चाहिन्छ, सानै उमेरदेखि त्यस्तो संस्कार दिन संस्कार कक्षालय सुरु गरेका हौं । बालबालिकामा दुर्गुण हटाई सद्गुण उमार्न संस्कार अति जरुरी हुन्छ,’ डा. अधिकारीले भने ।

अभिभावकले आफ्ना छोराछोरीहरुलाई सानै उमेरदेखि असल संस्कार दिलाउन आवश्यक रहेको र त्यसका लागि संस्कार कक्षालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई छ । डा.अधिकारीले थपे, ‘संस्कारी बनाउनुको अर्थ अभिभावकले छोराछोरीको व्यक्तित्वलाई चहकिलो, गुणवान र मूल्यवान बनाइदिनु हो । यसका लागि सुसंस्कारयुक्त शिक्षा अपरिहार्य हुन्छ र त्यसको परिपूर्ति संस्कार कक्षालयले गर्नेछ,’ । नयाँपुस्तामा संस्कारी बानीको विकास गर्न सकेका उनीहरुको सोच्ने शैली, जीवनशैली, आहारशैली र व्यवहारशैली स्वस्थकर एवं सुखदायक हुने उनको भनाई छ । संस्कार प्रशिक्षक विमल कोइरालाले विषयगत ज्ञानले दिमागलाई शिक्षित गर्छ भने संस्कारयुक्त ज्ञानले हृदयलाइ प्रशिक्षित गर्ने बताए ।

पहिलो चरणमा ५ वर्षदेखि ९ वर्षसम्म, ९ वर्षदेखि १२ वर्षसम्म र १२ वर्षभन्दा माथिका गरी तीन समूहमा विभाजन संस्कार शिक्षा, योग विज्ञान, जीवन व्यवस्थापन तथा वैज्ञानिक आध्यात्मिकता जस्ता विषयका विषेशज्ञहरुमार्फत नेपाली भाषी बालबालिकालाई अनलाइनबाट संस्कार कक्षा प्रदान गरिनेछ । यस कक्षालयमा विश्वका जुनसुकै स्थानमा वसोबास गर्ने नेपालीभाषी बालबालिकाहरुलाई संस्कार अनलाइन कक्षामा समेटिने डा. अधिकारीले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स