महानगर क्षेत्रमा रहेका पाँचवटा सामुदायिक विद्यालयलाई बस हस्तान्तरण

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा रहेका पाँचवटा सामुदायिक विद्यालयलाई बस हस्तान्तरण गरेको छ । महानगरपालिकाले नारायणी नमूना मावि भरतपुर १०, प्रभात मावि भरतपुर २५, भीमनगर मावि भरतपुर २०, लक्ष्मी मावि भरतपुर २३ र कविलास मावि भरतपुर २९ लाई बस हस्तान्तरण गरेको हो ।

महानगर प्रमुख रेनु दाहालले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरुलार्ई बसको साँचो हस्तान्तरण गरेको हो ।

सो अवसरमा महानगर प्रमुख दाहालले शैक्षिक क्षेत्रको विकासका लागि महानगर लागिपरेको बताए । उनले भने, ‘विद्यालयको शैक्षिक विकाससँगै भौतिक विकासका लागि महानगरपालिकाले काम गरिरहेको छ ।’ शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने जिल्लाको पहिलो स्थानीय तह भएको उनको भनाइ थियो । महानगरलाई स्वास्थ्य क्षेत्रको हबका रुपमा विकास भए जस्तै शैक्षिक क्षेत्रको केन्द्र बनाउने उनले बताए ।

कार्यक्रममा नारायणी नमूना माविका प्रधानाध्यापक पूर्ण दवाडीले निजी विद्यालयमा जस्तै सामुदायिक विद्यालयमा पनि विद्यार्थीहरुको आकर्षण बढ्दै गएको बताए । सामुदायिक विद्यालयमा पनि विद्यार्थीको चाप बढ्दै जाँदा स्कुल बस आवश्यक देखिएकाले महानगरले गरेको सहयोग सराहनीय रहेको उनको भनाइ थियो ।

महानगरको शैक्षिक महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलका अनुसार बस खरिदका लागि महानगरले छनोट गरेका विद्यालयहरुले सम्झौता गरी खरिद गरेका हुन् । खरिदका लागि महानगरपालिकाले एउटा बसका लागि रु १९ लाख ९८ हजार बजेट निकासा गरेको थियो । महानगरले बस हस्तान्तरण गरेसँगै सञ्चालन खर्च विद्यालयले बेहोर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स