काठमाडौं । एसियाली देशका सुरक्षण संस्थाहरु (एसिक) को ३६ औँ अन्तराष्ट्रिय सम्मेलन राजधानीमा शुरु भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषले आयोजना गरेको उक्त सम्मेलनमा १६ देशको प्रतिनिधित्व रहेको छ ।
सम्मेलनले नवप्रवर्तन र स्टार्टअप कर्जाको प्रवर्द्धनको विषयमा जोड दिने गरि छलफल सुरु भएको छ ।
उक्र सम्मेलनको शुक्रबार साँझ अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे ।
कार्यक्रममा पौडेलले समेत सोहि विषयलाई जोड दिए । पौडेलले भने, ‘नवप्रवर्तन र स्टार्टअप कर्जाको प्रवर्द्धनको लागि निक्षेप तथा कर्जा सुरक्षण कोषले महत्वपूर्ण भूमिका खेलेको छ ।’
अर्थतन्त्रको विकास र विस्तारको लागि कर्जा प्रवाह हुन आवश्यक रहेकोे बताए । उनले निक्षप तथा कर्जा सुरक्षण कोषको कारण नवप्रवर्तन र स्टार्टअप कर्जालाई सहज भएको बताए ।
उनले अन्वेषणमार्फत नवप्रवर्तनमा जोड दिने उद्देश्यका साथ सम्मेलनको आयोजना भएको भन्दै खुशी व्यक्त गरे । उनले अन्तरनिकाय सूचना आदान प्रदान गर्न एवम् साना व्यवसायीलाई वित्तीय पहूँच पुर्याउन कोषले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
बचतकर्ताको मनोबल बढाउन सुरक्षण बिना सम्भव हुँदैन । कर्जा सुरक्षण कोषले पर्याप्त धितो राख्न नसक्नेलाई पनि कर्जा लिन प्रोत्साहन गरिरहेको छ । यसले अर्थतन्त्रलाई सहज बनाउन भूमिका खेलेको उनको भनाइछ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त सम्मेलनमा आफ्नो भनाइ व्यक्त गरे । उनले भने, ‘कुनै बैंकमा समस्या आइहाल्यो भने पनि त्यसमाथि हस्तक्षेप गरेर परिस्थिति नियन्त्रणमा लिनसक्ने गरी निक्षेप बीमा योजनालाई परिस्कृत गर्न आवस्यक भएको छ ।’
उनले भने, ‘नेपालको अर्थतन्त्रमा निक्षेप तथा कर्जा सुरक्षण कोषको योगदान महत्त्वपूर्ण छ। बैंकिङ सिस्टममा करिब २०-२१ प्रतिशत डिपोजिट भोलममा इस्योरेन्स भएको छ। हाम्रो अपेक्षा सामान्यतः के रहन्छ भने परम्परागत जे काम गरिरहेको छौँ, ठिक छ, सबैले राम्रो गरिरहेका छौँ।
अब नयाँ किसिमबाट डिपोजिट इन्स्योरेन्सको अवधारणाअनुरूप एउटा बैंकमा कथं कदाचित समस्या आइहाल्यो भने त्यहाँ इन्टरभेन गर्न सक्ने क्षमता भोलिको दिनमा डिसिजीएफहरूले राख्नुपर्छ ।’