काठमाडौं । गत आर्थिक वर्षको अन्त्यसम्ममा २० खर्ब भन्दा बढी विदेशी मुद्रा संचिति कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत असारमसान्त सम्ममा २० खर्ब ४१ अर्ब १० करोड कायम भएको हो ।
२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३२.६ प्रतिशतले वृद्घि हो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ असार मसान्तमा ३७.४ प्रतिशतले वृद्घि भई १८ खर्ब ४८ अर्ब ५५ करोड कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ असार मसान्तमा ०.५ प्रतिशतले कमी आई १ खर्ब ९२ अर्ब ५५ करोड पुगेको छ । २०८१ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।
नेपालमा कायम रहेको विदेशी मुद्रा संचितिले १५.६ महिनाको वस्तु आयात धान्ने छ । त्यस्तै वस्तु तथा सेवाको १३ महिनाको आयात धान्न सक्ने स्थिति रहेको छ ।