काठमाडौँ । चौथो राष्ट्रिय कोदो दिवस ललितपुरको खोकनामा सम्पन्न भएको छ । कोदो दिवसमनाउन आयोजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सरकारले राष्ट्रिय दिवसको रुपमा घोषणा गर्ने प्रकृया अगाडि बढेको बताएका हुन् ।
अधिकारीले कोदोको महत्वका बारेमा सरकार जानकार रहेको बताउँदै केही दिनमै कोदोजन्य बाली प्रवर्द्धन गर्न राष्ट्रिय दिवस मनाउने प्रस्ताव मन्त्रीपरिषद्मा लैजाने तयारीमा रहेको जनाएका हुन् । गत वर्ष सन् २०२३ लाई संयुक्त राष्ट्र संघले नै कोदोजन्य बाली वर्षको रुपमा मनाएको थियो ।
पोषकीय महत्व बोकेको कोदोबालीको प्रवर्धनका लागि अनाज र महासंघले सरकारलाई दिवस घोषणाको निर्णय गराउन माग गर्दै हरेक वर्ष साउन १५ मा दिवस मनाउदै आएका छन्। मंगलवार सम्पन्न दिवसमा संयुक्त राष्ट्र संघ कृषि तथा खाद्य संगठन (एफएओ), भीएसओ नेपालसमेत कृषि तथा पशुपन्छी मन्त्रालयलेसमेत सहकार्य गर्दै ‘कोदोको योगदानः खाद्य तथा पोषण सुरक्षामा बरदान’ भन्ने नाराका साथ कोदो दिवस मनाइएको हो।
कृषिमन्त्री अधिकारीले कृषि मन्त्रालयमा आफूले नियमित कोदोको परिकार खाने गरेको पनि बताए। कोदो उत्पादनलाई प्रोत्साहनको निम्ती मन्त्रालयका चेमना गृहहरूले समेत कोदोका परिकार नियमित बनाउने गरेको जनाए।
उनले केही वर्षअघि दुबै छाक भातको लागि मरिहत्ते गर्नेले आजको दिनमा कोदोको खोले र रोटी खान कहाँ पाइन्छ भनेर धेरै ठाउँमा भौतारिएर हिडेको अवस्था रहेको बताए ।
पछिल्लो समयमा कोदोको उपयोग बढ्दै गए पनि कोदो उत्पादनमा व्यवसायिकता र किसानलाई आकर्षण गर्नको लागि आवश्यक नठान्दा सिमावर्ती क्षेत्रमा हुने सस्तो र कम गुणस्तरको उत्पादन र आयातले आन्तरिक उत्पादन विस्थापन गरेको छ ।
आर्थिक वर्ष २०७६÷७७ मा ७ करोड १५ लाख २७ हजार रुपैँया बराबरको कोदो आयात भएको तथ्यांक रहेको छ । आर्थिक वर्ष २०७७÷७८ मा ७ करोड २२ लाख रुपैयाँ बराबरको कोदो आयात भएको छ भने २०७९÷८० मा ७३ करोड २० लाख र आर्थिक वर्ष २०८०÷८१ मा मात्र ७५ करोड ४४ लाख २२ हजार ६५९ रुपैयाँको बराबरको कोदो आयात भएको सरकारी तथ्याक रहेको छ ।