काठमाडौं । सबै मन्त्रालयहरुको सचिवहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिफिङ लिएका छन् । अहिले मन्त्रालयको अवस्था र कामहरुको बारेमा आइतबार जानकारी लिएका हुन् ।
आइतबार बिहान करिव साढे ११ बजेदेखि साढे ५ बजेसम्म ६ घन्टा सबै मन्त्रालयका सचिव ब्रिफिङ प्रधानमन्त्रीले सुनेका थिए ।
अझै सबै सचिवहरुको कुरा सुनेर सरुवाको निर्णय लिने भएका हुन् ।
नागरिकलाई छिटो सेवा प्रवाह र विकासका कामलाई अगाडि बढाउन के के समस्या छन् , कसरी काम गर्न सकिन्छ भन्ने विषयमा सचिवहरुले आ–आफ्ना मन्त्रालयको स्थितिबारे विस्तृतमा खुलेरै कुरा समेत राखेका थिए ।
प्रधानमन्त्रीले सबैको कुरा सुनेर उनीहरुको मन्त्रालयप्रतिको धारण समेत बुझेर सरुवाको निर्णय लिदै छन् ।
नयाँ सरकार बनेपछि मन्त्रीहरुले समेत पुराना सचिवहरुसँग काम गर्न अफ्ठ्यारो महसुस गरिरहेका छन् ।
मन्त्रीहरुको माग र प्रधानमन्त्रीको राय अनुसार अब प्रायः जसो मन्त्रालयहरुमा सचिवको सरुवा हुने भएको हो ।
अर्थ , गृहदेखि प्रधानमन्त्री कार्यालयको समेत सचिव सरुवा पहिलो प्राथमिकता रहेको छ ।
अन्य निकायमा समेत त्यसपछि सरुवाको प्रक्रिया अपनाइने छ । सहसचिवहरुको समेत सरुवाको तयारी भैरहेको छ । विभागका महानिर्देशन देखि महाशाखा प्रमुख हरेक मन्त्रालयमा परिवर्तन गर्ने तयारी छ । जस अनुसार साउन महिना भित्र धेरै कर्मचारी हेरफेर हुँदैछ ।