‘स्वनियमन भन्दै ध्यान नदिएकैले सहकारीमा समस्या आयो’

काठमाडौं । प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले स्वनियमन भन्दै ध्यान नदिएकैले सहकारीमा समस्या आएको जानाकारी दिएका छन् ।
सहकारीलाई नियमन गर्ने निकायले स्वनियमन भन्दै ध्यान नदिएकैले सहकारीमा समस्या आएको यस विषयमा स्पष्ट कानुनी व्यवस्था गरिनुपर्ने देखिएको बताए ।

समिति सदस्य एवं सांसद ईश्वरीदेवी न्यौपानेले संविधानमा उल्लेख भएको तीन खम्बे अर्थनीतिको एउटा खम्बाका रुपमा रहेको सहकारी ढल्न लागेकाले यसलाई थाम्नका लागि समितिले काम गरेको बताए ।

दैनिक ज्याला, मजदुरी गरेर कमाएको पैसा सहकारीमा राखेकाहरु अहिले पीडित भएकाले यो समस्या समाधान गर्ने गरी समितिले प्रतिवेदन बुझाउने उनको भनाई थियो ।

सांसद लेखनाथ दाहालले हालसम्म समितिको १८ वटा बैठक बसेकामा १३ वटा बैठक सुझाव लिनकै लागि छलफल गरिएको बताए । समस्या आएका सहकारीलाई समाधानका लागि छदेखि आठ महिनासम्मको समय दिनुपर्ने उनको विचार थियो ।

सहकारीको बचत ठगी गरी विदेश भागेका गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जिबी राई घर जाँदा पनि हेलिकप्टर चढेर जाने गरेको उल्लेख गर्दै सांसद दाहालले उनले नेताको जन्मदिनमा केक बोकेर जाने गरेको सुनाए ।

सांसद सरिता भुसालले गाउँमा खोलिएका र महिलाद्वारा सञ्चालित सहकारीमा भने समस्या नभएको बताए ।

सांसद शिशिर खनालले राजनीतिक कारणले सहकारी नियमनमा समस्या आएको उल्लेख गर्दै समितिबाट देशभरका सहकारीपीडितले पैसा फिर्ताको आशा गरेकाले त्यसै अनुरुपको नीति बनाउन सहयोग पुग्ने गरी प्रतिवेदन तयार गर्न छलफल केन्द्रित रहेको बताए ।

सांसद ध्रुवबहादुर प्रधानले सहकारीसँग सरोकार भएका निकायले विगतदेखि समस्या पन्छाउँदा अहिले ठूलो रुप लिएको उल्लेख गरे । यसलाई अहिले नै समाधान गर्ने गरी अघि नबढाएपछि अझ ठूलो समस्या आउने भएकाले सरोकार भएका निकायलाई संसद्ले सचेत बनाउनुपर्ने विचार राखे ।

बैठकमा समितिले विभिन्न सञ्चारमाध्यमका पत्रकारसँग सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि गरिनुपर्ने कामका विषयमा सुझाव लिएको थियो । समितिको काम अन्तिम चरणमा पुगेको जानकारी पनि सो अवसरमा गराइएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स