काठमाडौं । नेपाल चेम्बर अफ कर्मशले ३ वर्ष रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ । नयाँ कार्यसमिति चयन भएपछि आज एक समारोहका ३ वर्षे योजना सार्वजनिक गरेको हो ।
चेम्बरका अनुसार आगामी ३ वर्षमा १० खर्ब बराबरको वस्तु निर्यात नेपालले गर्ने छ । गत दुई वर्ष देखि मात्रै १ खर्ब रुपैयाँको निर्यात बढाएको छ । त्यस अघिसम्म नेपालले १ खर्ब भन्दा पनि कम वस्तु निर्यात गर्दै आएको थियो ।
यसको लागि सरकारसँग चेम्बेरले समन्वय गर्ने छ ।
नेपाल चेम्बरले १६ औ आवधीक योजना, बजेट कार्याक्रम मौद्रिक नीति सँग समेत तामेल गर्न पहल गर्ने बताएको छ ।
त्यस्तै गरि चेम्बरले वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धि कायम राखेर अहिले ५७ खर्ब ५ अर्बको कुल ग्राहस्थ उत्पादनलाई ७५ खर्ब पुर्याउनुपर्ने बताएको छ । त्यस्तै गरि चेम्बरले क्षेत्रगत आर्थिक विकासमा समेत सहयोग गर्ने जनाएको छ । निर्यातमा मूल्य अभिवृद्धिको आधारमा १५ प्रतिशत सम्म प्रोत्साहन गर्नुपर्ने बताएको छ। त्यसको लागि चेम्बरले पहल गर्ने समेत बताएको हो ।
चेम्बरको नयाँ कार्यसमिति चैत अन्तिममा चयन भएको हो । कमलेश अग्रवालको नेतृत्वमा चयन भएको कार्यसमितिले आफ्नो कार्यकालको रणनीतिक योजना सार्वजनिक गरेको हो ।
सातै प्रदेशमा निर्यात घर स्थापनासम्बन्धी अवधारणाको व्यवहारिक कार्यान्वयनका लागि पहल गर्ने चेम्बरले उल्लेख गरेको छ। व्यापार प्रवर्द्धनका लागि निर्यात सहजीकरण एवं अन्तर्राष्ट्रियस्तरको क्वारेन्टिन ल्याव स्थापनाका लागि पहल गर्ने चेम्बरले जनाएको छ।
यस्तै रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा प्रोत्साहन गर्न नीतिगत कार्ययोजना बनाउने चेम्बरले जनाएको छ। वैदेशिक रोजगारबाट फर्किएका युवाहरुको सीपलाई अध्यागमनमा लगत संकलन गर्ने र युवाहरुको सीपलाई स्वदेशी उत्पादनमा लगाउनका लािग प्रर्वद्धन कार्यक्रम सञ्चालन गरिने चेम्बर उल्लेख गरेको छ।
चेम्बरले दिगो आर्थिक विकासका लागि स्थिर सरकार र नीतिगत स्थायित्वमा जोड दिएको छ। आर्थिक वर्ष २०८१/८२ देखि लागु हुने १६औं पञ्चवर्षिय योजना, सरकारको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबीचको प्रभावकारी तालमेलका लागि पहल गर्ने चेम्बरले उल्लेख गरेको छ।
पुँजीगत खर्च वृद्धि एवं आवाधिक योजनाको प्रभावकारी कार्यन्वयन, पुँजीगत खर्च समयमै सम्पन्न गर्नका लागि समयवद्ध तालिका बनाएर परिणाम दिने गरी काम गर्नका लागि नीतिगत पहल गरिनेमा समेत चेम्बरले उल्लेख गरेको छ।
कुल गार्हस्थ्य उत्पादन जीडीपीमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान १४ प्रतिशत रहेको भन्दै चेम्बरले व्यावसायिक एवं रोजगारी अभिवृद्धिका लागि व्यापार सहजीकरण गर्दै जीडीपीमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदानलाई थप वृद्धि गर्न पहल गरिने चेम्बरले उल्लेख गरेको छ।
पूर्वाधारका योजनालाई पाइलट प्रोजेक्टका रुपमा विकास गरी विदेशी लगानीको आर्कषणका लागि पहल गरिने पनि चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। तुलनात्मक लाभ भएका कृषि, जलश्रोत, पर्यटन, तथा सूचनाप्रविधि क्षेत्रमा स्वदेशीसंगै विदेशी लगानी भित्र्याउनका लागि पहल गर्ने जनाएको छ।
विश्व व्यापार संगठन, विम्स्टेक र साफ्टा आदिमा गरिएका प्रतिबद्धता अनुसार भन्सार दरबन्दी घटाउन पहल गरिने चेम्बरले जनाएको छ।
सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रका रुपमा विकास गर्न पल गरिने चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। चेम्बरले भन्सारमा कारोबार मूल्यलाई मान्यता दिई सन्दर्भ मूल्यलाई खारेज गर्न निरन्तर पहल गर्ने बताएको छ।