काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालले गठबन्धन सरकार पूरा कार्यकाल टिक्ने बताएका छन् । मंगलबार संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै अर्थमन्त्री शर्माले गठबन्धन सरकार निरन्तर चल्नेमा कुनै शंका नरहेको बताएका हुन् ।
उनले अहिलको सरकार जनताबाटै निर्वाचित प्रतिनिधिहरूको सरकार भएकोले पूर्ण कार्यकालसम्म रहने विश्वास व्यक्त गरे । ‘अहिलेको सरकार प्रतिगनकारी शक्तिलाई परास्त गरेर आएको हुनाले पूर्ण कार्यकाल चल्छ’ मन्त्री शर्माले भने ‘गठबन्धनको सरकाले संघीयता, लोकतन्त्र, गणतन्त्र र जनताका अधिकार संरक्षण गरेकोले सरकार ढल्ने कुरा निराधार हो ।’
प्रतिगमनकारी शक्तिले संसद भंग गरेर केही समय देशमा अस्थिरता सिर्जना गरेको उल्लेख गर्दै माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् संगठन विभाग प्रमुख शर्माले प्रतिगमनकारीहरूले पटकपटक संसद विघटन गरेर देशलाई दुर्घटनामा पु¥याउन खोज्दा माओवादीसहितको गठबन्धन निर्माण भएको बताए ।
संखुवासभाको खाँदबारी नगरपालिका ९ तुम्लिङटार विमानस्थल नजिकै आयोजित कार्यक्रममा मन्त्री शर्माले पूर्वी पहाडी क्षेत्रको संखुवासभामा मात्रै अथाह स्रोत–साधन रहेको भन्दै यसको उपयोग गरे संखुवासभाको कायापलट हुने धारणा व्यक्त गरे । ‘हामी नेपालीहरू गरिब छैनौँ, हामीसँग अथाह स्रोत–साधान छ । यही जिल्लामा जलविद्युतको थुप्रै सम्भावना छ ।
सरकारले एक हजार मेगावाटभन्दा बढीको माथिल्लो अरुण लगायत थुप्रै जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीहरूलाई जिम्मा दिएको छ । यसले राष्ट्र र नागरिक दुवैलाई फाइदा दिन्छ’, मन्त्री शर्माले भने ।
सङ्खुवासभामा किमाथांका नाका, अरुण तेस्रो जलविद्युत् परियोजनालगायत थुप्रै सम्भावना रहेकाले नेपालको व्यापार घाटा घटाउन यो जिल्लाले सघाउ पु¥याउने मन्त्री शर्माको भनाइ थियो ।
नेकपा माओवादी केन्द्र संखुवासभाले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन मन्त्री शर्मा मंगलबार संखुवासभा पुगेका थिए । उनले बुधबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।