काठमाडौं । चैत मसान्तसम्ममा चालु खाता एक खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको नौ महिनासम्मको वित्तीय विवरण अनुसार चालू खाता १ खर्ब ७९ अर्ब ४८ करोड रुपैयाँले बचतमा रहेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ६० अर्ब ४३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४६ करोड ८३ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ३५ करोडले बचतमा छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.२ प्रतिशतले कमी आई ४ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ४८ करोड रुपैयाँले धनात्मक छ ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ९१ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ करोड रुपैयाँले धनात्मक रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ७४ अर्ब २८ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३२ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ७५ करोड रुपैयाँले बचतमा छ ।